नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ।
मंसिर २६ गतेदेखि जारी बैठकबाट पार्टी यस्तो निस्कर्षमा पुगेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए। उनले राष्ट्रिय ऐजेण्डाहरुमा सहकार्यको सम्भावना सधैं जीवित रहेपनि पार्टी एकताको सम्भावना नरेहको जिकिर गरे।
यद्यपि, राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्नको लागि पार्टी सधैं तयार रहेको उनको भनाइ छ। ‘हालको अवस्थामा अन्य कुनैपनि कम्युनिष्ट पार्टीहरुसँग एकीकरण गर्ने अथवा पार्टी एकता गर्ने आजको सम्भावना नरहेको तर सहकार्यको सम्भावना सधैं जिवितै रहेको हुँदा विभिन्न राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्न तयार छौं,’ खतिवडाले भने, ‘तर पार्टी एकताको नाममा कुनै पार्टीसँग एकीकरण गर्ने सम्भावना नरहेको पार्टीको धारणा छ।’
उनले बैठक अगामी निर्वाचनहरुमा एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभरि स्थापित गर्नेबारे केन्द्रित रहेको बताए। ‘हाम्रो पार्टीको स्थायी कमिटिको बैठक आज पाँचौँ दिन पनि छलफल मै व्यवस्त छ,’ उनले भने, ‘हामीले समसामयिक राजनीतिक विषय र पार्टी सुदृढीकरणका लागि अगामी कार्ययोजनाको विषयमा छलफल गरेका छौं। अब जनताको जनजीविका र मागहरुसँग जनतालाई जोडेर घरघरबाट जनसंघर्षको माध्यमबाट पार्टी निर्माण गर्न सकिन्छ भन्ने दिशामा हाम्रो निर्णय केन्द्रित छ। त्यही अनुरुपको निर्णय भोलि सार्वजनिक गर्नेछौं। त्यसैगरी अगामि निर्वाचनहरुमा नेकपा एकीकृत समाजवादीलाई सशक्त प्रतिष्पर्धी पार्टीको रुपमा उभ्याउने र कलम चिन्हका उम्मेदवारहरुलाई देशभर स्थापित गर्नेबारे छलफल केन्द्रित छ।’
Shares

प्रतिक्रिया