नेपाल नर्सिङ संघको २० औँ कार्यसमिति र नर्सिङ परिषद सदस्यको निर्वाचन भइरहेकै बेला स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरूका नाममा लोकप्रियतामुखी निर्देशन जारी गरेको छ।
संघको चुनावकै दिन पारेर मन्त्रालयले शुक्रबार स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न निर्देशन दिएको हो। स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनमा मन्त्रालयले यो निर्णय गरेको उनको सचिवालयले जनाएको छ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिक लगायतका सुविधा उपलब्ध गराउन आग्रह गरेको हो।
मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘मेडिकल कलेज तथा स्वास्थ्य संस्थाबाट नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक लगायतको सुविधामा अन्याय भएको भनी गुनासो आएको र सो सम्बन्धमा स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारसरह नघट्ने गरी लागू गर्न यही मंसिर २७ गते सचिवस्तरीय निर्णय भएको छ।’
तोकिएको समयभन्दा बढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने, सक्कल शैक्षिक लब्धांक पत्र कार्यालयले राख्न नपाइने र अनुभवको प्रत्र प्रदान गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
त्यस्तै, नर्सिङलगायतका अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयको निर्देशनमा उल्लेख छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नर्सलगायत सबै स्वास्थ्यकर्मीको पारिश्रमिक र अन्य सुविधा बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएको उनको सचिवालयले जनाएको छ।
नर्सिङ संघमा सत्तारूढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी माओवादीनिकटबीच गठबन्धन भएको छ। गठबन्धनबाट अध्यक्षमा साझा उम्मेदवार चन्द्रकला शर्मा छिन् ।
यस्तै सत्तारूढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा एकीकृत समाजवादीनिकटबीच अर्को गठबन्धन भएको छ। यस गठबन्धनबाट साझा उम्मेदवार एकीकृत समाजवादीनिकट गंगाकुमारी थापा छिन् ।

Shares

प्रतिक्रिया