नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले स्थानीय तहको उपनिर्वाचनमा पार्टीले उत्साहजनक मत पाएको निष्कर्ष निकालेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जनताले एकचोटि फेरि माओवादी केन्द्रलाई साथ दिने मनसाय बनाएको सन्देश उपनिर्वाचनले दिएको निष्कर्ष निकालेको हो।
स्थायी समिति बेठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर जाने सोचलाई उपनिर्वाचनले खण्डित पारेको बताए।
उनले भने, ‘आजको बैठकको मुख्य एजेन्डा भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनका बारेमा छलफल गर्ने थियो। उपनिर्वाचनको परिणामले उत्साहको वातावरण सिर्जना गरेको छ। त्यस्तै कांग्रेस र एमाले मिलेर दुई दल एकातिर जाने सोच बनाएका थिए, त्यो सोचलाई खण्डित गरेको छ।’
यस्तै बैठकले कांग्रेस र एमालेको दुई तिहाईको सरकारले जनताको हितविपरीत काम गरिरहेकोले त्यसविरूद्ध पार्टीले प्रभावकारी हस्तक्षेपको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष पनि निकालेको सापकोटाले बताए।
उनले भने, ‘सरकारबाट सुशासनविरुद्धका कामहरू भइरहेका छन्। ट्रंकलाइनको महसुल उठाउनको लागि विद्युत प्राधिकरणले गरेको प्रयत्नमा अवरोध सिर्जना गरेको छ। मन्त्री नै प्राधिकरणमा कार्यकक्ष खोलेर बसेका छन्। विश्वविद्यालयका नियुक्तिमा दबाब दिनेदेखि हरेक निकायहरूमा सरकारको हस्तक्षेप तीव्र बढेको छ। त्यसमा पार्टीले आक्रोश व्यक्त गरेको छ। संघीय संसदका दुवै सदनको बैठक बस्ने बेला पनि भएको छ। त्यसमा पनि प्रभावकारी हस्तक्षेपको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने निर्णय भएको छ। अहिले राष्ट्रिय परिस्थिति एकदमै प्रतिकूल हुँदै गइरहेको अवस्थामा छ। अन्तर्राष्ट्रिय परिस्थिति पनि एकदमै पेचिलो बन्दै गइरहेको छ। यो अवस्थामा पार्टीले आफ्नो भूमिकालाई गुणात्मक रूपमा बढाउनुपर्छ भन्ने निर्णय गरेको छ।’
बैठकले पार्टीका तर्फबाट भएका कमीकमजोरीको समीक्षा गर्ने र जनताको हितमा समर्पित हुँदै जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने निर्णयसमेत गरेको सापकोटाले बताए।
Shares

प्रतिक्रिया