नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ।
पुस पहिलो साता बस्ने भनिएको केन्द्रीय समिति बैठक तेस्रो साता धकेलिएको हो।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पुस २१ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
केन्द्रीय समिति बैठक बस्नुअघि फेरि स्थायी समिति बैठक बस्नेछ। स्थायी समितिको बैठक पुस १७, १८, १९ र २० गते बोलाइएको सापकोटाले बताए।
यसअघि माओवादी केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बोलाइएको थियो। उक्त बैठकका एजेन्डा तय गर्न स्थायी समिति बोलाइएको थियो।
सापकोटाले भने, ‘हामीले पार्टीको केन्द्रीय समितिको बैठक पुस २ गते बस्ने भनेका थियौँ। अहिले पालिका सम्मेलन चलिरहेको हुनाले मंसिर मसान्तभित्रमा सक्ने भने पनि केही कारणले सम्पन्न हुन सक्ने स्थिति नबनेका कारण अन्तिम तयारीका लागि स्थायी समितिको बैठक मंसिर १७, १८, १९ र २० गते बस्ने र केन्द्रीय समितिको बैठक २१ गते बस्ने गरी निर्णय भएको छ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी संख्या बढाउने तयारी गरेका छन्। हाल अध्यक्षका साथै ४ उपाध्यक्ष, १ महासचिव, ६ उपमहासचिव, ९ सचिव र १ कोषाध्यक्षसहित २२ पदाधिकारी छन्। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ र पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने प्रयासमा प्रचण्ड रहेका छन्।
Shares

प्रतिक्रिया