काभ्रेको पनौतीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको विरोधमा स्थानीय आन्दोलित भएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ।
घटनाको विरोधमा आगजनी र तोडफोडको शृंखला बढेपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले मंगलबार बिहान ९ बजेदेखि लागू हुने गरी पनौती नगरपालिकाका चार किल्ला तोकेर कर्फ्यु लगाइएको बताए।
‘तोडफोड, आगजनीजस्ता अराजकता बढ्न थालेपछि कर्फ्यु आदेश जारी गरिएको हो,’ मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले भने, ‘अब अर्काे आदेश नहुन्जेल कर्फ्यु जारी रहन्छ।’
काभ्रे जिल्ला प्रशासनका अनुसार पनौतीपूर्व शंख जाने बाटोको चौकीसम्म ८०० मिटर र पश्चिम कुशादेवी जाने बाटोको १ किलोमिटर तथा बनेपा जाने ठाडो बाटोको १ किलोमिटर र देखाञ्चोकतर्फ १ किलोमिटर मिटर क्षेत्रमा कर्फ्यु लगाइएको हो।
प्रमुख जिल्ला अधिकारी तिमिल्सनाका अनुसार हिजो (घटना भएको दिन सोमबार साँझ) प्रदर्शनकारीको तोडफोड र आगजनीले धेरै क्षति भएको छ।
‘प्रहरी बिट, सीसी टीभी, बिजुली तथा टेलिफोनका तार क्षति भएका छन्,’ उनले भने, ‘आज पनि बिहानै भिड जम्मा हुन थालेपछि थप क्षति र अराजकता नहोस् भनेर कर्फ्यु घोषणा गरेका हौं।’
उनका अनुसार सोमबार साँझ प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ४ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएका छन्। तर उनीहरूको अवस्था अहिले सामान्य भइसकेको छ।
पनौती बसपार्कमा सोमबार साँझ बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका वडा नम्बर १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो।
पीडित पक्षसँग वार्ता हुँदै
टिपरको ठक्करबाट मृत्यु भएकाका परिवार र टिपरवालाबीच अहिले वार्ताको तयारी भइरहेको छ।
काभ्रे जिल्ला प्रहरी कार्यालयमा अहिले वार्ता गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए।
‘अहिले हामी पीडित पक्ष र पीडक पक्षबीच वार्ता गराउने तयारी गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले भने, ‘पीडित पक्ष, गाडीधनी, स्थानीय भद्रभलाद्मी तथा प्रहरी बसेर छलफल गर्ने तयारी भइरहेको छ।’
Shares

प्रतिक्रिया