प्रधानमन्त्री केपी शर्मा ओली विद्यालय भवन उद्घाटनक लागि आज आफ्नो जन्मस्थान तेह्रथुम पुगेका छन्।
बुधबार दिउँसो ओलीले आठराई गाउँपालिका-४ मा रहेको प्रणामी माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गरेका छन्। तीनदिन आफ्नो गृहजिल्ला झापामा बिताएर मंगलबार मात्रै काठमाडौँ फर्किएका ओली आज फेरि जन्मस्थान आठराई पुगेका हुन्।
प्रधानमन्त्री ओलीले आधारभूत शिक्षा प्रणामी माविबाट लिएका थिए।
विद्यालयमा निर्माण भएको १८ कोठे भवनको प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन्। यस क्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरेका छन्।
प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेकाअनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको लागि पहल गरिदिन आग्रह गरेको थियो।
प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमकै आठराईस्थित इवामा जन्मिएका हुन्।
Shares

प्रतिक्रिया