राजनीति


रविको अड्डासारबारे गृहमन्त्री : उहाँकै सुरक्षाका लागि राति लगियो, कहाँ अधिकार हनन् हुन्छ?

रविको अड्डासारबारे गृहमन्त्री : उहाँकै सुरक्षाका लागि राति लगियो, कहाँ अधिकार हनन् हुन्छ?

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १८:५३, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले रवि लामिछानेलाई उनकै सुरक्षाका लागि चितवनबाट राति पोखरा लगिएको प्रस्टीकरण दिएका छन्।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत पुगेका गृहमन्त्री लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कुनै मानव अधिकार हननको कार्य प्रहरीबाट नभएको उल्लेख गर्दै उनकै सुरक्षाको लागि राति अड्डासार गरिएको दाबी गरेका हुन्।

सरकार सबै नागरिकको मानव अधिकार रक्षाको लागि प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो।

‘हामी सबै नागरिकको मानव अधिकारप्रति प्रतिबद्ध छौँ,’ मन्त्री लेखकले भने, ‘कसैको मानव अधिकार हनन भएको छैन र हुँदैन। जहाँसम्म रवि लामिछानेको कुरा छ, उहाँकै सुरक्षाको लागि राति नै चितवनबाट पोखरा लगिएको हो। यसमा कहाँ मानवअधिकार हनन हुन्छ?’

लाखौँ सर्वसाधारण जनताको रकम दुरूपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको उल्लेख गर्दै मन्त्री लेखकले भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको बताए।

‘अनुसन्धान भइरहेको विषयमा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिल कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ, अनि यो भीडले हो न्याय निरूपण गर्ने?’, गृहमन्त्री लेखकले प्रश्न गरे।

रवि लामिछाने मात्रै नभएर सहरकारी अपचलनमा धेरै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको भन्दै यसको निर्क्योल अदालतले गर्ने उनले बताए। मन्त्री लेखकले सडकमा भीड जम्मा नगर्न र अदालतको कामलाई प्रभावित नगर्न सुझावसमेत दिए।

उनले भने, ‘न्याय दिने अदालतले होला नि! भीडले न्याय दिन्छ र?’ पत्रकारको प्रश्नमा जवाफ दिँदै उनले अहिलेको सरकार आगामी निर्वाचनसम्म रहने भन्दै यसमा आशङ्का गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad