राजनीति


इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गर्‍यो, सबैले विरोध गरौँ : प्रचण्ड

इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गर्‍यो, सबैले विरोध गरौँ : प्रचण्ड

नेपालखबर
मंसिर २४, २०८१ सोमबार १५:६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन्। 

सोमबार काठमाडौँको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली नरसंहारविरूद्ध देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका विरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको उनले बताए। 

पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको विरोध गर्दै प्रचण्डले संयुक्त राष्ट्र संघमा यसको विरुद्धमा पटक–पटक प्रस्तावहरू पारित भए पनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको बताए। 

अमानवीय ढंगले आक्रमण गरी हत्या गरेकोमा सबैले आवाज उठाउनुपर्ने प्रचण्डको भनाइ छ। 

‘इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीकाविरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको कुरा हामी सबैलाई थाहा छ। अहिले पछिल्लो चरणमा खास गरी प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको पनि विश्वव्यापी रूपमा विरोध हुँदै आएको छ,’ प्रचण्डले भने, ‘संयुक्त राष्ट्र संघमा पनि यसका बारेमा पटकपटक प्रस्तावहरू पारित हुने गरेका छन् तर ती सबैलाई अटेरी गर्दै नरसंहार र नाकाबन्दीको निरंकुश तरिका अपनाइएको छ।’

उनले २१ औं शताब्दीको सभ्य भनिएको समाजमा लोकतन्त्रको नयाँ युग भनिएको बेलामा पनि यति अमानवीय ढंगले अस्पतालमा बालबालिकादेखि निर्दोष र निरपराध मान्छेहरूको नरसंहार गरेको देख्नु परेको भन्दै दुःख व्यक्त गरे।

त्यसकाविरुद्ध विश्वव्यापी आवाज उठाउन सबैको कर्तव्य हुने र नेपालका राजनीतिक दल, नागरिक समाज, विद्वत् व्यक्तित्व सबैले पहल गरेर आवाज उठ्न सुरु गरेको उनको भनाइ थियो।

७ अक्टोबर २०२३ मा इजरायलले गाजामा आक्रमण गरेको थियो। त्यतिबेला नेपालको प्रधानमन्त्री प्रचण्ड नै थिए। 

त्यसको एक वर्षपछि प्रचण्डसहितका नेताहरू गाजामाथिको आक्रमण रोक्नुपर्ने मागसहित हस्ताक्षर अभियानमा सरिक भएका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad