राजनीति


नेपालको राजनीतिको मुख्य समस्या भ्रष्ट आचरण : माधव नेपाल

नेपालको राजनीतिको मुख्य समस्या भ्रष्ट आचरण : माधव नेपाल

नेपालखबर
मंसिर २३, २०८१ आइतबार ११:२७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार भएको बताएका छन्।

सोफा उत्पादक संघको प्रथम साधारण सभालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै उनले भ्रष्टाचारले गर्दा नेपालको राजनीति नै बदनाम भइरहेको बताएका हुन्।  

भ्रष्टाचारको अन्त्य गर्न आफैँबाट पहल थाल्नुपर्नेमा पनि नेपालले जोड दिए। ‘भ्रष्टाचार आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने एवं भ्रष्टाचार गर्नेलाई तत्कालै कारबाही गर्ने हो भने सबै डराउने अवस्था सिर्जना हुन्छ,’ उनले भने, ‘बेथितिका बिरुद्धमा जुध्न थाले मात्रै थिति बस्छ।’ 

नेपाली राजनीतिको अर्को समस्या व्यक्तिवाद र अहंकार भएको उनले बताए। संकीर्ण सोच राख्ने र सामरिक दृष्टिकोण नराख्ने कुराले पनि समस्या आइरहेको नेपालको भनाई छ। 

‘नेपाली राजनीतिको समस्या कहाँ छ त? मेरो विचारमा नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार हो। यो भ्रष्टाचारले गर्दाखेरि राजनीति अत्यन्तै बदनाम भएको छ। भ्रष्टाचारको अन्त्य गर्ने कसरी? त्यो अन्त्य सबैभन्दा पहिला आफूबाट शुरु गर्नुपर्छ,’ नेपालले भने, ‘आफूले भ्रष्टाचार गरेन भने भ्रष्टाचार गर्नेलाई छुट दिएन भने, भ्रष्टाचारका घटनाहरु कतै भइरहेका छन् भने तत्काल कारबाही गर्न थाले सातो जान्छ। बेथितिका बिरुद्धमा जुध्न थालियो भने बल्ल थिति बस्छ। नेपाली राजनीतिको अर्को समस्या चरम व्यक्तिवादमा छ। अहंकारमा छ। मैमत्तपनमा छ। आफू जान्ने बाँकी दुनियाँ कोही पनि जान्दैन भन्ने ठान्ने प्रवृत्ति छ। सामरिक दृष्टिकोण राख्दै नराख्ने, संकीर्ण सोचका साथ चल्ने प्रवृतिमा छ।’

अध्यक्ष नेपालले बजारको सुनिश्चितता गर्न नसके उत्पादनमा आकर्षण घट्ने बताउनु बताए। उनले देशभित्रै रोजगारीको सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad