राजनीति


झलनाथको प्रश्न- बीआरआई सम्झौता गर्नु नै थियो भने यत्रो नाटक किन?

झलनाथको प्रश्न- बीआरआई सम्झौता गर्नु नै थियो भने यत्रो नाटक किन?

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १६:१७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गरेकामा खुसी व्यक्त गरेका छन्।

चीन भ्रमण सेकर शनिबार स्वदेश फर्किएका खनालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालको तयारी नपुगे पनि अन्तिममा बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद् पक्ष भएको उल्लेख गरे।

बीआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन गर्नुपरेको भन्दै उनले प्रश्नसमेत गरे।

पूर्वप्रधानमन्त्री खनालले छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँगको सम्बन्ध राम्रो बनाउँछ भनेर कटाक्ष पनि गरे।

उनले भने, ‘नेपाल र चीनबीचको सम्बन्ध र यो बीआरआई लिन किन नेपाल यस्तरी चुकिरहेको छ? संसारमा १५३ मुलुकले बीआरआई प्रोजेक्ट लिइसके तर नेपालले यत्रो सात-सात वर्षसम्म किन नलिएको भन्ने जुनसुकै पत्रकारहरुको पनि प्रश्न थियो। मैले यसबारेमा अध्ययन गर्दै छौँ, हामी लिन चाहन्छौँ, बीआरआईप्रति हाम्रो सकारात्मक धारणा छ भन्ने कुरा दृढतापूर्वक राखेँ।’

बीआरआईमा सम्झौतामा नहुने हो कि भन्ने अन्तिम समयसम्म आफूलाई लागेको उनको भनाइ थियो।

उनले भने, ‘यो बीआरआईको बारेमा अब सम्झौता त भयो तर अनौठो कुरा, त्यहाँ घुम्दाघुम्दै कस्तो लाग्यो भने अब बीआरआईको बारेमा गर्नुपर्छ भनेर धेरै इन्टरभ्युमा भनेँ। तर अन्तिममा नहुने भएछ। एउटा ड्राफ्ट गरियो, त्यो फिर्ता भयो। अर्को ड्राफ्ट गरियो, त्यो फिर्ता भयो। अनि नहुने भयो भनेर संयुक्त विज्ञप्तिसमेत निस्कियो। अन्तिममा फेरि केके कुराहरू हुँदै गयो, अन्तिममा बीआरआई सम्झौता भयो। भाषा यताउति गरेर भयो। गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुभयो? छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन जसले सक्दैन, संसारसँग कसरी राम्रो सम्बन्ध बनाउने? यो त पहिला नै अध्ययन गरेर होमवर्क गरेर गर्नुपर्ने काम हो। छिमेकीसँग यो प्रकारको लापरबाही गरेर गर्नुहुँदैन थियो। तर जे होस्, धेरैपटक घुमाउरो गरेर भए पनि बीआरआई सम्झौता भएको छ। त्यो राम्रो कुरा हो। मैले खुशी प्रकट गर्नुपर्छ।’

नेता खनालले नेपाल सरकारले अबिलम्व पारवहन सुविधा साकार बनाउन तत्काल अध्ययन जरुरी रहेको धारणा पनि राखे। भारतबाट ४ पटक नाकाबन्दी भोगिसकेको भन्दै पारवहन खुला हुने स्थिति बनेको खण्डमा कहिल्यै पनि नाकाबन्दी भोग्नु नपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad