राजनीति


कहिले कांग्रेस, कहिले एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भएको छ : पुन

कहिले कांग्रेस, कहिले एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भएको छ : पुन

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १९:२८, रोल्पा

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले हालै सम्पन्न उपनिर्वाचन परिणामले आफ्नो दलको पक्षमा जनमत बढेको पुष्टि भएको बताएका छन्।

पार्टीको गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रुपमा आफूहरूलाई जनमतले अनुमोदन गरेको बताए। कांग्रेस र एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको गलत अफवाहलाई जनताले खारेज गरेको उनको भनाइ थियो।

‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौं भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो’, पुनले भने, ‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौं। उपचुनावको परिणमबाट जनताले त्यसको जवाफ दिएका छन्। हामीले आफ्नो जनमत देखाएका छौं।’

विगतका केही निर्वाचनमा तालमेल गर्दा कांग्रेस र एमालेले आफूहरूको मत लिएको तर आफूहरुलाई मत नदिएको पनि यो निर्वाचनले पुष्टि गरेको उनले बताए। उनले कांग्रेस र एमालेको जनमत घटेको र आफूहरूको बढेको दाबी गरे। जितेका ११ ठाउँबाहेकमा पनि धेरै स्थानमा आफ्नो दल दोश्रो भएकाले त्यो पुष्टि हुने तर्क पुनको थियो।

निर्वाचन परिणामले वर्तमान व्यवस्थालाई बहुदलीयबाट दुई दलीय व्यवस्थामा लैजाने र पालैपालो जनतालाई शासन गर्ने कांग्रेस–एमाले महत्कांक्षामा धक्का लागेको उनले बताए।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचार, बेथिति, बिचौलियातन्त्र र राज्य दोहनविरुद्ध काम गरेका कारण पनि जनता आफूहरुतिर आकर्षित भएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad