काठमाडौँ महानगरपालिका वडा नं १६ मा रास्वपाबाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठ आफ्नो जितको खुसी सबैभन्दा पहिला आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सुनाउन चाहन्थिन्।
कारण, काठमाडौँ–१६ मा उनले नेकपा एमाले, नेपाली कांग्रेसलगायत परम्परागत दलहरूलाई पराजित गर्दै रास्वपाको झण्डा गाडेकी छन्। उनले रास्वपाको पहिलो र एक मात्र वडाध्यक्ष बन्ने मौकासमेत पाएकी छन्।
गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रवि पनि संयोगवश काठमाडौँमै थिए। त्यसैले रोजिना समर्थक तथा शुभचिन्तकको बधाइ तथा शुभकामनाको ओइरोका बीच हतारहतार सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौँमा भेट्ने इच्छा व्यक्त गरिन्।
तर अवस्था उनले सोचेजस्तो भएन।
त्यतिन्जेल रविलाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराइसकेको थियो। बयान चलिरहेका बखत उनलाई कोही पनि बाहिरी व्यक्तिले भेट्न नपाउने जवाफ प्रहरीले फर्कायो।
रविलाई भेट्न नपाएपछि रोजिना पार्टी कार्यालय फर्किएकी छन्। डीएसपीले भेट्न नदिएपछि फर्किएको रास्वपाका एक नेताले बताए।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रहरीले रविसँग सोधपुछ गरिरहेको छ। गत शुक्रबार सुरु भएको बयानको क्रम आज तेस्रो दिन पनि जारी छ। सरकारी वकिलको रोहबरमा प्रहरीका अनुसन्धान अधिकृतहरूले बयान लिइरहेका छन्।
‘बयान करिब अन्तिम चरणमा पुगेको छ, सम्भवतः आज सकिन्छ होला,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले नेपालखबरसँग भने।
बयान सकिएर रविलाई हिरासत फर्काइएपछि भेट्न पाइने जवाफ पाएपछि रोजिना ‘पछि आउने’ भनेर पार्टी कार्यालयतिर फर्किएकी हुन्।
रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको छ। पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीको ठगी प्रकरणमा उनको बयान भइसकेको छ। अब चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको ठगी प्रकरणमा पनि उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीको तयारी छ।
Shares

प्रतिक्रिया