राजनीति


ओली सरकारमा जस्तो कमजोर सुशासन कहिल्यै थिएन : वर्षमान पुन

ओली सरकारमा जस्तो कमजोर सुशासन कहिल्यै थिएन : वर्षमान पुन

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १९:१९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले इतिहासमै अहिलेजत्तिको कमजोर सुशासन कहिल्यै नभएको बताएका छन्।

गृहजिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिका–४ मा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले दुई ठूला दल कांग्रेस र एमालेको सरकार बनेपछि सुशासन कमजोर भएको र भ्रष्टाचार बढेको बताए।

सहकारी ठगी प्रकरणमा उस्तै गल्ती गर्ने अरुमाथि कारबाही भए पनि सत्तारुढ कांग्रेस र एमालेका नेतालाई छानीछानी उन्मुक्ति दिने काम भएको उनको भनाइ थियो।

‘उस्तै गल्तीमा एउटामाथि कारबाही भएको छ। उस्तै घटनामा कांग्रेस–एमाले नेतामाथि कारबाही त परको कुरा बोलाएर सोधपुछ गर्ने र छानबिनको दायरामा राख्ने समेत काम भएको छैन’, पुनले भने।

यस्तै, उनले मानव तस्करसँग मिलेर युवाहरूलाई जापान लैजाने कोसी प्रदेशका पूर्वआन्तरिका मामिलामन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएकामा सरकारप्रति आपत्ति जनाए।

‘मानव तस्करसँग मिलेर मान्छे लगेकामा जापानले डिपोर्ट गरेको छ। प्रहरीले १२ जनामाथि मुद्दा चलाउनुपर्ने प्रतिवेदन दिन्छ। तर, सरकारी वकिललले बिचौलियाको पैसामा जापान जाने मन्त्रीसहित ११ जनामाथि मुद्दा चलाउँछ, मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएका एमालेका मन्त्रीलाई उन्मुक्ति दिन्छ’, पुनले भने, ‘पैसा खानेलाई उन्मुक्ति पैसा बुझाउनेलाई चाहिं कारबाही? कांग्रेस–एमालेको सुशासन यस्तो छ।’

लोकतन्त्रमा संविधान, कानुन र स्थापित विधिभन्दा माथि कोही नरहेकोमा पुनले जोड दिए।

पुनले ०४६ देखि ०६२ सम्म जनताबाट तिरस्कृत कांग्रेस–एमालेलाई आफूहरूले १२ बुँदे सहमतिमार्फत गणतन्त्र, संविधान लेखन र परिवर्तनको प्रक्रियामा ल्याएपछि जनताले माफी दिएको बताए।

‘संविधान र परिवर्तनका एजेण्डा उल्ट्याएर आफ्नाले जतिसुकै ठूलो भ्रष्टाचार गरे पनि उन्मुक्ति दिने र अरुले बोल्दा पनि प्रतिशोध लिने प्रवृत्ति हाबी भएको छ’, उनले भने।

अहिले फेरि संविधान संशोधनका नाममा परिवर्तनको प्रक्रियाबाट पछि हट्न खोजेकाले दुई दल दण्डित हुने चेतावनी पुनको थियो। पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला सुशासनको पक्षमा भ्रष्टाचारविरोधी अभियान चालिएको दाबी गरे। उनले सुशासन कमजोर भएको र भष्टाचार तथा अनियमितताका घटना बढेकाले लोकतन्त्रको सर्भिसिङ गर्नुपर्ने बेला आएको बताए।

पुनले मुलुकमा बाढी पहिरो जाँदा अमेरिका सयर गरिरहेका प्रधानमन्त्रीले स्वदेश फर्किएपछि आफन्त गुमाएकाहरूलाई सान्त्वना दिनुको साटो ‘भैंसी दुहुन गएको होइन’ भन्नु जनतालाई हेपेको रुपमा व्याख्या गरे।

यस्तै कार्यवाहक प्रधानमन्त्री सुतेर बसेको र गृहमन्त्री भिजिबिलीटी पुगेन भनेर बस्दा नख्खु खोलामा चार घण्टासम्म छतमा बसेर ज्यान बचाउन गुहार माग्नेहरूलाई बगाएको घटना कसैले बिर्सन नसक्ने उनको भनाइ थियो।

‘दर्जनौं मानिस बाढीपहिरोबाट मरेका छन्। प्रम विदेश सयरमा हुनुहुन्छ। कार्यवाहक प्रधानमन्त्री सुतेर बस्नुभएको छ। गृहमन्त्रीलाई केही थाहा छैन। गल्ती भयो। सकिएन, मौसम विभागले भन्दाभन्दै पनि हाम्रो तयारी पुगेन भन्नुपर्नेमा प्रधानमन्त्रीले स्वदेश फर्किएपछि ‘भैंसी दुहुन गएको होइन’ भन्नुभयो’, पुनले भने।

आफ्ना अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला जाजरकोट भूकम्प गएको स्मरण गर्दै उनले मानिसहरू बिहान उठ्दा प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा पुगेर आफैं चढेको हेलिकोप्टरबाट घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएको उल्लेख गरे।

पुनले दुई तिहाईको वर्तमान सरकारले अन्तर्राष्ट्रिय रुपमा समेत नेपालको उपस्थिति देखाउन नसकेको दाबी गरे।

पुनले वर्तमान सरकारमा रहेका एमाले र कांग्रेसका वरिष्ठ नेताहरुले नै आफूहरुसँग दिक्दारी सुनाउन थालेको बताए।

यद्यपि आफूहर सरकार ढाल्ने खेलमा नलागेको उनको बताए। ०८४ को निर्वाचनसम्मै वर्तमान सत्ता गठबन्धन टिकोस् भन्ने पक्षमा आफ्नो दल रहेको पुनले उलेख गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad