प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्।
बिहीबार अपराह्न चीन प्रस्थान गरेकी उनले छेन्दुमा त्यहाँका विदेशमन्त्री वाङ यीसँग भोलि द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ।
चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजनालाई लिएर सत्तारूढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच कुरा मिलिरहेको छैन। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले चीनबाट प्रस्तावित कार्यान्वयन योजना स्वीकार्य नरहेको स्पष्ट सन्देश दिइसकेको छ।
दुई दलबीच साझा धारणा बनाउन संयुक्त कार्यदलले पनि काम गरिरहेको छ। उक्त कार्यदलमा बीआरआई कार्यान्वयन योजनाको सट्टा ‘फ्रेमवर्क एग्रिमेन्ट’का लागि गृहकार्य भइरहेको छ।
परराष्ट्रमन्त्री राणाले भने सत्तासाझेदार दलमा मतभिन्नता रहेको कुरा अस्वीकार गरेकी छन्।
चीन जानुअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग भनिन्, ‘मतभिन्नता मिडियाले सिर्जना गरेको हो। पार्टीमा जति पनि नेताहरू हुनुहुन्छ, एकरूपताका साथ कसरी अघि बढाउने भनेर एउटा टिम (बनाउनुभएको) छ, कुरा भइरहेको छ, मतभिन्नता भन्ने अहिलेसम्म भएको छैन।’
के बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर (सम्झौता) हुन्छ त भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यो नेगोसिएसन (वार्ता) हुने कुरा हो । परराष्ट्र नीतिमा दुई देशले नै आफ्ना कुरा राख्छन्। त्यसमा धेरै वार्ताहरू हुन्छन्। त्यसको भरमा के हुन्छ, हेरौँ।’
Shares

प्रतिक्रिया