राजनीति


कञ्चनपुरका ६ स्थानमा सीमा समस्या, गृहमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

कञ्चनपुरका ६ स्थानमा सीमा समस्या, गृहमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

नेपालखबर
चैत २, २०७६ आइतबार ८:३७,

नेपाली भूमि भारततिर पर्नेगरी भारतले सीमास्तम्भ गाडेको भन्दै कञ्चनपुरका सांसदसहितका सरोकारवालाले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन्।

आइतबार कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्, स्थानीय तह प्रतिनिधि, दलका प्रतिनिधि र सरोकारवालाहरुले नेपाली भू—भाग कायम भएको सयौैँ हेक्टर जग्गा भारततिर पार्नेगरी एकतर्फी रुपमा स्ट्रिप नक्शा बनाइएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएका हुन्।

बालबालिका तथा समाजकल्याण संसदीय समिति सभापति निरुदेवी पालसहित कन्चनपुरका सांसदहरु प्रकाश भट्ट, नरबहादुर धामी, बिनादेवी बुढाथोकी, इन्दु कडरिया (राष्ट्रियसभा) लगायतका २० जना जनप्रतिनिधि, दलका प्रतिनिधि  र सराेकारहरुले गृहमन्त्रीको ध्यानकर्षण गराएका हुन्।

ज्ञापनपत्रमा नेपाल–भारतबीच कञ्चनपुरका विभिन्न स्थानमा रहेकाे  समस्या उल्लेख गरिएको छ।

भरतीय पक्षले गलत नक्सा पेश गरे पनि नेपाली पक्षको नापी टोलीले स्वीकार गरी स्ट्रिप नक्शा तयार गरेकाले समस्या आएको उनीहरुले बताएका छन्।

यसैबीच नेपाली भूमि अतिक्रमण भएको भन्दै कञ्चनपुरका नेपालीले भारतले बनाएको सीमा-स्तम्भ तोडफाोड गरेका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका-३ बैवाहमा भारतले निर्माण गरेको ७८३र४ नम्बरको नेपाल-भारत सीमास्तम्भ स्थानीयले शनिबार भत्काएका हुन्।

ज्ञापनपत्रअनुसार कञ्चनपुरका यी स्थानमा छ सीमा समस्या
(क) बेल्डाँडी गाउँपालिकाको वडा नं. ३ बैवाहामा रहेको साबिक ३२ नं. पिल्लर देखी ३३ नम्बर पिलर र ३३ नं.पिल्लर देखि ३४ नम्बर पिलरसम्म सीमांकन गर्दा २०२८ साल देखि भोगचलन गर्दै आएको र लालपुर्जा भएको सयौ परिवारको जग्गा भारततिर पर्ने गरि नयाँ सीमाङ्कन गरिएको छ । हालसम्म उक्त क्षेत्रमा कुनै बिबाद रहेको थिएन । त्यहा रहेको नालालाई सीमा मानी नालाको नेपालतर्फको सम्पूर्ण भूभागमा २०३६ सालमा कित्तानापी भई भूतपूर्व सैनिकहरुको बस्ती बसालिएको तथ्यलाई उपेक्षा गर्दै अहिलेको स्टिप नक्सामा भने उपरोक्त दुबै पिलरको बीचमा नयाँ सर्भे तथा सीमांकन गर्दै सय विगाहा भन्दा बढी जमिन भारततर्फ पर्नुका साथै विश्व बैंकको सहयोगमा निर्माण भएको महाकाली सिचाईं आयोजना अन्तर्गत दोश्रो चरणको नहर समेत दुबै देशको सीमा क्षेत्र (नोमेन्स ल्याण्ड) बीचमा पर्न गएको छ ।

ख) बेलौरी नगर पालीकाको वडा नं. ८ पचुइ मा रहेको ३८ नं. स्तम्भलाई साक्षी स्तम्भको रुपमा मानिदै आएको थियो । ३८ नं. पिलर देखि ३ सय मिटर दक्षिण भएर चौधर नदी बग्ने गरेको छ । उक्त चौधर नदीको भारत पट्टीको किनारमा सीमा रहेकोमा उक्त स्थानमा पिल्लर राख्न नदिका कारण अप्ठ्यारो भएकाले उच्चो ठाउँ खोजी नेपाल पट्टीको उक्त स्थानमा राखिएको हँुदा चौधरादि सम्मनै नेपाली पक्षले भोगचलन गर्दै आएको छ । तर हाल नयाँ भनिएको स्ट्रिप नक्शा मा ३८ नं. स्तम्भलाई मुल सीमा स्तम्भ मानीएको छ । ३८ नं. स्तम्भलाई मुख्य स्तम्भ मान्दा स्तम्भ नजिक बाट गईरहेको हुलाकी सडक समेत भारतमा परेको भन्दै भारतिय सुरक्षाकर्मीहरुले उक्त क्षेत्रमा हुलाकी सडक निर्माण कार्य बन्द गराएका छन् । यसरी गर्दा ३७ नं.स्तम्भ देखि ३८ हुदै ३९ सम्म पुग्दा सयौ बिगाहा नेपालीहरुको भोगचलन र जग्गाधनी प्रमाण पुर्जा भएको जमिन भारततिर पर्ने भएको छ ।

(ग) बेलौरी नगर पालिका को १ नं. र पुनर्वास नगरपालिकाको ४ नं. बडाको सीमा क्षेत्रमा पर्ने २०० नं. सीमा स्तम्भ बिगत लामो समय देखि बेपत्ता पारिएको छ र हाल सम्म स्थापना गरिएको छैन । सोहि सीमा स्तम्भ नभएकै कारण नेपाली भुमिमा भारतिय पक्षबाट अतिक्रमण हुँदा त्यसको प्रतिरोधमा सहिद गोबिन्द गौतमले ज्यान गुमाउनु परयो तर हाल सम्म पनि २०० नं. सीमा स्तम्भ स्थापना भएको छैन, २०१ बाट १९९ नम्बरको जंगे पिलरलाई आधार मानेर २०० नं. पिलर स्थापना गर्नु पर्ने मा त्यसो नगरेर २०१ बाट सोझै १९८ मा पुग्ने गरि बिचको झन्डै ३ की.मी लामो क्षेत्रको ५० मिटर देखि झन्डै ७ सय मिटर चौडाई सम्मको ठुलो नेपाली भुभाग भारत तिर पर्ने गरि नक्शाङ्कन गरिएको छ । १९९ नं. पिलर लाई आधार मान्दा भारतीय पक्षले अतिक्रमण गरेको भुमि नेपालकै देखिने भएपछि १९९ नं. पिलर लाई सीमा पिलर नभई साक्षी पिलर भन्दै स्ट्रिप नक्शा तयार गरिएको पाइएको छ । जवकी कुनै खोला, नाला, ताल तलैया कारण सही स्थानमा सीमा स्तम्भ स्थापना गर्न नसके मात्र सुरक्षीत स्थान खोजी साक्षी स्तम्भ राख्ने गरेको देखिन्छ तर १९९ नं. पिल्लर सबै भन्दा होचो स्थानमा रहेको छ र भारतिय पक्षले दाबि गरेको स्थान अग्लो डाडा हो । अग्लो र सुरक्षीत स्थानको लागि किन र कसरी अप्ठयारो स्थानमा राखिएको पिल्लर रिफरेन्स हुन सक्छ ?

घ) पुनर्वास नगरपालिकाको वडा नं. ९ मा रहेको प्याराताल २०५८ साल सम्म जिल्ला बिकास समिति कञ्चनपुरले ठेक्का दिदै आएको थियो । त्यस बेला सम्म त्यहाँ कुनै बिबाद थिएन । प्यारा ताल भन्दा दुइ सय मिटर जति दक्षिणमा ढालिएको अवस्थामा १९५ नं. रहेको छ । बिगतमा त्यसै पिलर लाई सीमा पिलर मानीएकै कारण प्यारातालमा कुनै बिबाद थिएन तर हाम्रो मुलुकमा आन्तरिक द्वन्द्वका कारण सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति समेत नरहेको अवस्थामा नेपालको तर्फबाट खटिएको तत्कालिन नापि अधिकृत मधुरमान मास्के नेतृत्वको टोलीले भारतिय पक्षको टोली संग भारततिरै बसेर तयार गरेको स्ट्रिप नक्शा मा १९५ नं. पिलर लाई मुख्य सीमा स्तम्भ नभई साक्षी स्तम्भको रुपमा स्वीकार्दै प्याराताल नै सीमामा पर्ने गरि बनाइएको छ र १९५ नं. पिल्लर लाई कुनै पनि महत्व नदिई पुनर्निमाण समेत गरिएको छैन । बिजोर नं. को पिल्लर भएकाले उक्त पिल्लर निर्माण तथा मर्मत गर्ने जिम्मेवारी नेपाल पक्षको हो । जसका कारण उक्त क्षेत्रको नेपाली भुभाग गुमाउनुका साथै सुन्दर प्याराताल समेत गुमाउनु पर्ने अवस्था आएको छ ।

(ङ) भीमदत्त नगरपालिका वडा नंं १०, गड्डाचौकीदेखि जिमुवा जाने सडक खण्ड कालोपत्रे गर्न नगरपालिकाले टेण्डर आव्हान गरि काम शुरु भएको अवस्थामा भारतीय पक्षले उक्त जमिन भारतीय भूमिमा परेको भन्दै काम बन्द गर्न लगाएको अवस्था छ । यसैगरी सोही नगरपालिकाको वडा नं. ९ ब्रम्हदेव बजारमा लामो समयदेखि रहेको हलिया मुक्ति बस्तीमा भारतीय पक्षले दावी गर्दै नयाँ भवन निर्माण गर्न रोक लगाएको तथा पुरानो बस्ती समेत खाली गर्न दबाब दिइ रहेको अवस्था छ ।

स्थानीयका ६ माग 
१) जनता तथा जनप्रतिनिधिको सहभागिता बिना एकतर्फी रुपमा तयार गरिएको कञ्चनपुर जिल्लाको कथित स्ट्रिप नक्शालाई खारेज गरि, यसअघि सहमति भएका आधारहरुः ऐतहासिक दस्तावेज, भोगचलन, कित्ता नापी नक्साका तथा जग्गाधनी प्रमाण पुर्जा, जंगे पिलर, सीमा सम्बन्धी अन्तराष्ट्रिय ऐन तथा कानुनका आधारमा नयाँ नक्सा तयार गर्न जनप्रतिनिधिको सहभागिता हुने गरि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्डमा कार्यरत टोलीमालाईनै अधिकार दिई तत्काल स्ट्रिप नक्शा पुनराबलोकन गरियोस ।
२) राष्टियस्तरमा सीमांकन सम्बन्धी भएको सहमति तथा निर्णय विपरित सीमा क्षेत्रमा रहेका जंगे पिलर एवं जनताको भोगाधिकार भइरहेको निस्सालाई समेत वेवास्ता गरी नेपालीको भूमि भारततर्फ पर्ने गरी स्ट्रिप नक्शा के कसरी तयार गरियो ? यसमा कुन कुन व्यक्ति या पक्ष सम्मिलित छन् ? सीमा सर्भे टोलीबाट के कति स्वार्थमा यस्ता कामहरु गरिए भन्ने कुराको तत्काल छानबीन गर्दै आवस्यक कार्वाही गरियोस् ।
३) स्ट्रिप नक्शालाई पुनराबलोकन गर्दा सुगौली सन्धि पश्चात स्थापना गरिएका आधार सीमा स्तम्भ (जंगे पिलर) लाई अन्तराष्ट्रिय सीमा रेखाङ्कनको मुख्य आधार बनाईयोस र नियतबस सारिएका, गायव गरिएका, भत्काइएका २०० नं., १९५ नं. लगायतका पिल्लरहरुलाई बिज्ञानसम्मत तथ्यका आधारमा पुरानै ठाउँको खोजी गरि तत्काल पुनस्थापना गरियोस् ।
४) सारदा ब्यारेज को निर्माणको बेला देखी नेपाल तथा भारतबीच जग्गा सट्टा भर्ना सम्वन्धि भएको सहमति अनुसार जग्गाको यथार्थ बिवरण सार्बजनिक गरियोस् ।
५) नेपाली नागरिकहरुको भोगचलनमा भएको अतिक्रमित जमिन फिर्ता गरिनुका साथै सीमा रेखाङ्कनवाट प्रभाबित हुने जनताको आवस्यक ब्यवस्थापन गरियोस ।
६) सीमानामा हुने अतिक्रमण र ज्यादतिका बिरुद्धको संघर्षमा गोबिन्द गौतमले सहादत प्राप्त गरेको कुरा स्मरण गराउदै कञ्चनपुर जिल्लाको सीमा क्षेत्रमा हुने हरेक समस्या बाट जनताको सुरक्षाका खातिर प्रतेक २ किमि मा सीमा सुरक्षा बल स्थापना गरियोस् ।
धन्यवाद सहित ।

मा. निरुदेवी पाल, सभापति, महिला, बालबालिका तथा समाजकल्याण संसदीय समिति
मा. दीपक प्रकाश भट्ट, प्रतिनिधि सभा सदस्य, कञ्चनपुर–३
मा. नर बहादुर धामी, प्रतिनिधि सभा सदस्य, कञ्चनपुर–२
मा. बीना बुढाथोकी, प्रतिनिधि सभा सदस्य, कञ्चनपुर
मा. इन्दु कडरिया, राष्ट्रिय सभा सदस्य, कञ्चनपुर
श्री कृपाराम राना, संविधान सभा सदस्य, कञ्चनपुर
श्री चित्रा कुमारी चौधरी, उप प्रमुख, बेलौरी नगरपालिका, कञ्चनपुर
श्री कलबिर चौधरी, वडाध्यक्ष, बेलौरी नगरपालिका वडा नं. २, कञ्चनपुर
श्री साइटु कुमार चौधरी, बेलौरी नगरपालिका वडा नं. ८, कञ्चनपुर
श्री पल्लवराज भट्ट, संयोजक, अन्तराष्ट्रिय सीमा सरोकार समिति, कञ्चनपुर
श्री गोकर्ण भट्ट, सदस्य, अन्तराष्ट्रिय सीमा सरोकार समिति, कञ्चनपुर
श्री ओमप्रकाश पन्त, अन्तराष्ट्रिय सीमा सरोकार समिति, कञ्चनपुर
श्री हरिश पन्त, सदस्य, अन्तराष्ट्रिय सीमा सरोकार समिति, कञ्चनपुर
श्री रमेश भट्ट, सदस्य, अन्तराष्ट्रिय सीमा सरोकार समिति, कञ्चनपुर
श्री ओम बिक्रम भाट (सरल), नेकपा सुदूरपश्चिम कमिटि सदस्य
श्री माधव पन्त, अनेरास्ववियू, केन्द्रीय सचिवालय सदस्य
श्री आनन्द पन्त, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह, कञ्चनपुर
श्री किरण सिंह थापा, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह, कञ्चनपुर
श्री प्रकाशदेव भट्ट, कञ्चनपुर
निर्मल भण्डारी, जिल्ला सदस्य, नेकपा कञ्चनपुर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad