उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन सहरी नीतिलाई मूर्त रुप दिन आवश्यक रहेको बताएका छन्।
सोमवार विश्व सहर दिवस तथा विश्व सहरी योजना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले राष्ट्रिय सहरी नीतिलाई छिट्टै मन्त्रिपरिषद् बैठकबाट मूर्त रुप दिनुपर्ने भएकाले तदारुकताका साथ काम गरिरहेको बताए।
उनले सहर निर्माणका क्रममा स्थानीय सरकार र अध्ययनशील युवाहरुका विचारहरूलाई समावेश गर्न आवश्यक रहेको बताए।
उनले पुर्खाहरूले छोडेर गएको विरासतलाई सँगसँगै लगेर सहरी विकासका कामहरू गरेर विश्वलाई चिनाउनुपर्ने बताए। मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी सहर निर्माण गर्नुपर्नेमा उनको जोड थियो।
मन्त्री सिंहले भने,‘परापूर्व कालदेखि हामीले ओहोरदेहोर गर्दाखेरि आर्थिक क्रियाकलाप गर्ने ठाउँ काष्टमण्डप हो। आर्थिक क्रियाकलाप चलायन बनाउनका लागि शहरहरुमा के के गर्न सकिन्छ त्यो चाहीँ हामीले गर्नुपर्दछ। जुन हाम्रो सहरी नीति, २०८१ छ त्यसमा जोड दिएर हामीले अगाडि बढ्नुपर्दछ भन्ने लागेको छ। यसलाई मन्त्रिपरिषद्मा लगेर छिट्टै मूर्त रुप दिनुपर्दछ भन्ने लागेको छ। त्यसछि सहरी नीतिको आधारमा सहरी ऐन बनाउन सकिन्छ। सहरी नीति पास भइसकेपछि सहरी ऐन बनाउन हामी तदारुकताका साथ काम गर्नेछौं भन्न चाहन्छु।’
विश्वमा चलेको सहर विकासको ट्रेण्डलाई पछ्याउँदै सहरीकरणका योजना बन्नुपर्नेमा उनको जोड थियो।
Shares

प्रतिक्रिया