काठमाडौँको कीर्तिपुर नगरपालिकामा हुन लागेको उपनिर्वाचनमा दुईवटा मतपत्र हुने भएको छ। यही मंसिर १६ गते देशभरका ३३ जिल्लाका ४१ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ।
कीर्तिपुर नगरपालिकामा प्रमुख र वडाध्यक्षका लागि दुईवटा अलग अलग मतपत्र रहने व्यवस्था गरिएको निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन्।
कीर्तिपुर नगरपालिकामा मेयर र दुईवटा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। कीर्तिपुरमा वडानम्बर १ र ४ मा वडाध्यक्ष पद रिक्त छन्।
प्रवक्ता अर्यालका अनुसार कीर्तिपुरमा मतदाताले मेयरका लागि मतदान गरिसकेपछि सम्बन्धित वडाको लागि मतपत्र पाउने व्यवस्था मिलाइएको छ।
यही मंसिर १६ गते आइतबार देशका ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो।
तर कैलाली र ओखलढुंगाका जिसस प्रमुख तथा रुकुम पूर्वको पुथा उत्तरगंगाको वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन्। अब ४१ स्थानमा मात्रै उपनिर्वाचन हुने आयोगले जनाएको छ।
Shares

प्रतिक्रिया