राजनीति


विकास निर्माणका नाममा जथाभाबी मेसिन प्रयोग गर्नु घातक : उपप्रधानमन्त्री सिंह

विकास निर्माणका नाममा जथाभाबी मेसिन प्रयोग गर्नु घातक : उपप्रधानमन्त्री सिंह

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १५:४७, काठमाडौँ

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका कामहरु गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरुको सामना गर्नुपरेको बताएका हुन्।

उनले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताए।

नेपालको भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्र विकास निर्माणका कामहरु गर्नुपर्ने भन्दै हतारमा मेसिनहरुको प्रयोग गर्नु घातक हुने बताए। देशको भौगोलिक अवस्थितिबारे गहन रुपबाट सोच्न जरुरी रहेको उल्लेख गरे।

तीन तहकै सरकार मिलेर काम गरेमात्रै सोचेअनुरुपको नतिजा निस्किने बताए। विकासको लागि सडक शुरुवाती बिन्दु रहेको भन्दै प्रविधिमैत्री सडक बनाउने कुरामा लाग्न जोड दिए।

उनले भने,‘जुन हिसावको हाम्रो भौगोलिक अवस्थिति छ, यसमा पनि हामीले गम्भीर भएर सोचेर मात्र विकास निर्माणका कामहरु गर्नुपर्दछ भन्ने मलाई लाग्दछ। हतारमा मेसिनहरुको प्रयोगमात्र गरेर हुँदैन। विकास निर्माणका कामको दिगोपना पनि त हामीले याद गर्नुपर्‍यो नि त।’

नेपालमा सडक तथा बाटो निर्माण गर्दा मेसिनहरुभन्दा जनशक्ति उपयोग गरेर निर्माण गर्दा दिगो एवं प्रकृतिमैत्री हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad