ad ad

राजनीति


बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटे प्रचण्डले

बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटे प्रचण्डले

नेपालखबर
चैत १, २०७६ शनिबार ७:४३,

मिर्गौला प्रत्यारोपणपछि शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्।

शनिबार बिहान अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेटन् बालुवाटर पुगेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग भेट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको बताए।

‘अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीज्यूसँग  भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो’, सल्लाहकार थापाले नेपालखबरसँग भने।

यता प्रचण्डको सचिवालयले उनले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिएको बताएको छ। ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनकै लागि भेट गर्नुभएको हो’, एक सचिवालय सदस्यले नेपालखबरसँग भने। 

सो क्रममा अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीलाई  बधाई दिनुका साथै  शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए।

अध्यक्ष प्रचण्डले साे अवसरमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकाे सचिवालयले जनाएकाे छ।

यसअघि अध्यक्ष प्रचण्डले मिर्गौला प्रत्यारोपणको अघिल्लो दिन फागुन २० गते अस्पतालमै पुगेर प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्थाबारे जानकारी लिएका थिए। यसबीचमा अध्यक्ष प्रचण्ड आफैँ पनि अस्वस्थ भएका कारण अस्पतालमा नपुगे पनि घरबाटै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकाे सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि गत फागुन १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए। उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। प्रत्यारोपणको १० दिनपछि प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज भएपछि बालुवाटार फर्किएका हुन्।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .