राजनीति


रवि लामिछानेलाई आज पोखरा फर्काइँदै

रवि लामिछानेलाई आज पोखरा फर्काइँदै

फाइल तस्बिर: जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको बालकोनीमा रवि लामिछाने।


नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार ८:१, काठमाडौँ

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज (शुक्रबार) बिहान पोखरा फर्काइँदै छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी खनालले भैरहवा विमानस्थलबाट अहिले बिहान ७:४० बजेको उडान भए पनि मौसम अलि सफा नभएकाले ढिला भइरहेको जानकारी दिइन्। 

‘मौसम खुल्नेबित्तिकै उहाँ पोखरा प्रस्थान गर्नुहुन्छ’, डीएसपी खनालले भनिन्।  

हिजै पोखरा फर्काउने तयारी रहे पनि बेलुका अबेरसम्म बयान चलेकाले लामिछाने रुपन्देहीमै रोकिएका हुन्।

जिल्ला सरकारी वकिलको कार्यालयमा रविसँग प्रहरीले तीन दिन लगाएर लिएको बयान बिहीबार राति सकिएको हो। उनलाई पोखरा लैजान बिहीबार साँझ ६:३० को उडान तय गरिएको थियो। तर उनको बयान सकेर सहीछाप गराउँदा राति ८ बजिसकेको थियो। 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले रविलाई कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा लगेको थियो। त्यस दिनदेखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले कात्तिक २७ गते रुपन्देही (भैरहवा) ल्याइएको थियो। 

सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरेको आरोप रविलाई लागेको छ। त्यतिबेला उनी गोर्खा मिडियाका प्रबन्ध निर्देशक थिए। 

सोही प्रकरणमा उनका व्यावसायिक साझेदार छविलाल बन्जाडे जोशीसँग रुपन्देही प्रहरीले यसअघि नै बयान लिइसकेको छ। हाल उनी कास्की प्रहरीकै हिरासतमा छन्। अर्का आरोपित जीबी भनिने गीतेन्द्रबाबु राई भने फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad