बुटवल–नारायणगढ सडक खण्ड विस्तारमा भइरहेको ढिलासुस्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गर्दैछन्।
रुपन्देही, नवलपरासी र नवलपुरका संघीय सांसद, विभागीय मन्त्री, प्रदेश मन्त्री, प्रदेशसभा सदस्य र तीनवटै जिल्लाका स्थानीय तहका प्रमुखहरुसँग बिहीबार बिहान ओलीले छलफल गर्न लागेका हुन्।
छलफल बिहान साढे ११ बजे बालुवाटारको पुरानो सचिवालय भवनमा राखिएको ओलीको सचिवालयले जनाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारमा डिलासुस्ती हुँदा यात्रुले लामो सयमदेखि सास्ती पाउँदै आएका छन्। सडक निर्माणको काम समयमै नसकिँदा बर्खामा हिलो र हिउँदमा धूलोको सास्ती खेप्नुपर्ने बाध्यता छ।
विगत ६ वर्षदेखि विस्तार भइरहे पनि नारायणगढ–बुटवल सडकको काम अझै सकिएको छैन।
२०७५ माघमा नारायणगढ–बुटवल सडकको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो। ४२ महिनामा काम सक्ने सम्झौता भएपनि ६ वर्ष बितिसक्दा पनि ७७ किलोमिटर सडकको निर्माण पूरा छैन।
सडक विस्तार गर्दा बजार क्षेत्रमा ८ लेनसम्म र अन्य ठाउँमा ४ लेन निर्माण गरिएको छ। तर काम सुस्त हुँदा यो सडकको निर्माण कार्य कहिले सकिन्छ टुंगो छैन। ६ वर्षसम्म पनि सडक विस्तारको काम नसकिँदा सरकारको आलोचना हुँदै आएको छ।
Shares

प्रतिक्रिया