राजनीति


लीलाबल्लभलाई हिरासतमा राख्न ७ दिन म्याद थप

लीलाबल्लभलाई हिरासतमा राख्न ७ दिन म्याद थप

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १८:३६, काठमाडौँ

कोसी प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री भएकै बखत मानव तस्करी गरेको आरोप लागेका लीलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत, काठमाडौँले मानव तस्करी तथा सरकारी लिखत किर्ते कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिदिएको हो।

आइतबार आइतबार मोरङको विराटनगरस्थित निवासबाटै पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

अधिकारी मोरङ क्षेत्र नं २ (ख) बाट निर्वाचित एमालेका सांसद हुन्। 

आइतबार पक्राउ परेका अधिकारी र त्यसअघि नै पक्राउ परेका ६ जनाविरुद्ध प्रहरीले दुईवटा कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ को दफा ४ को उपदफा २ को (ग) र मुलुकी अपराध संहिता २०७४ को लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। 

अधिकारीलाई पक्राउ गर्नुअघि नै प्रहरीले उनीसँगै जापान गएका तीन जना र नक्कली कागजात तयार गर्ने तथा रकम असुलेर जापान पठाउन संलग्न रहेको मानिएका तीन जनालाई पक्राउ गरेको थियो। 

जापानको नारिता विमानस्थलबाटै अध्यागमनले फर्काएका खोटाङको केपीलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐसेलुखर्क गाँउपालिका २ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका ५ का २१ वर्षीय कन्चन देवकोटा सुरुमा पक्राउ परेका थिए। 

उनीहरूलाई विमानस्थलबाट पक्राउ गरेर अनुसन्धान गर्दा थप व्यक्तिको संलग्नता खुलेको थियो। तीमध्ये धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका ६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका ७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका ९ का ३० वर्षीय वीरबहादुर सुनुवार पक्राउ परेका छन्। 

अधिकारी र तीन युवक जापानमा हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर २०२४’ मा सहभागी हुन हङकङ हुँदै नारिता अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। 

मन्त्रीसँगै गएका तीन युवकसँग कोसी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नाममा जारी भएको नक्कली कर्मचारी परिचय पत्रसमेत फेला परेको छ। जापानको भिसा लगाउन र कार्यक्रममा जान उक्त परिचयपत्र प्रयोग भएको थियो। 

कात्तिक ११ गते क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ हुँदै उनीहरू जापानको नारिता विमानस्थल पुगेका थिए। तर त्यहाँको अध्यागमनले उनीहरूलाई प्रवेश निषेध मात्र गरेन, ४८ घण्टासम्म नियन्त्रणमा राखेर कात्तिक १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काइदियो।

उनीहरू फर्किएलगत्तै जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको थियो। 

अध्यागमन कार्यालयले पहिला काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो। त्यसको दुई दिनपछि कात्तिक १६ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको थियो। 

जापान जाने युवाहरूले १३ लाख रुपैयाँसम्म तिरेको बताएका छन्।

मानव तस्करीमा संलग्न रहेको आरोप लागेपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए। उनलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad