निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले आजदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्त गरेको हो।
आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो।
मंसिर १६ गते स्थानीय तहका विभिन्न ४४ पदमा निर्वाचन हुँदैछ। आयोगको निर्वाचन कार्यतालिका अनुसार आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त भएका हुन्।
उपनिर्वाचनको निर्धारित कार्यतालिका अनुसार कार्तिक ३० गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले सम्बन्धीत स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम अगाडि बढाउने छन्।
साथै आयोगले आजै मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको हो।



Shares

प्रतिक्रिया