आउँदो मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा दोलखाको गौरीशंखर गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार तय भएका छन्।
तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्ना दलको उम्मेदवारको नाम टुंगो लगाएको हो।
जसमा नेपाली कांग्रेसबाट पासदिकी शेर्पा, एमालेबाट उमा मगर शेर्पा र माओवादी केन्द्रबाट निमलेकी शेर्पाको नाम टुंगो लागेको छ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको थियो। ३१ असार २०८० मा हृदयरोगका कारण उपाध्यक्ष तामाङको निधन भएको थियो। उनको निधनपछि रिक्त रहेको गौरीशंखर गाउँपालिका उपाध्यक्ष पदमा हुन लागेको उपचुनावमा तीन ठुला दलले आफ्ना उम्मेदवार टुंगो लगाएको हो।
कांग्रेसबाट निर्वाचित तामाङको मृत्यु भएपछि नेपाली कांग्रेसले उनको श्रीमती पासदिकी शेर्पालाई उपाध्यक्षको उम्मेदवार बनाउन उनको नाम सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाएको जनाएको छ।
कांग्रेस दोलखाका सभापति बर्मा लामाका अनुसार गौरीशंकरको उपनिर्वाचनमा पासदिकीलाई उम्मेदवार बनाउने पालिका समितिबाट निर्णय भएका र सोही अनुसार उनले निर्वाचनको गतिविधि अघि बढाएकी छन्।
गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष स्वर्गीय तामाङको निधनपछि कांग्रेसले उनकै श्रीमतीलाई उम्मेदवारकोरुपमा अघि सार्ने निर्णय गरेको पार्टी सभापति लामाले बताए।
विगत १५ वर्षदेखि कांग्रेसको जिल्ला अधिवेशन प्रतिनिधि रहेकी पासदिकी हाल महिला संघको बागमती प्रदेश सदस्यको समेत जिम्मेवारीमा छिन्।
त्यस्तै नेकपा मााओवादी केन्द्रले निमलेकी शेर्पालाई अघि सारेको छ।
कात्तिक ८ गते बिहीबार बसेको गाउँपार्टी कमिटीको बैठकले उनको नाम सिफारिस गरेको हो। स्वास्थ्य स्वम्सेविका समेत रहेकी निमलेकीले पनि आफ्नो चुनावी गतिविधि बढाएकी छिन्।
आफ्नो दलबाट उपाध्यक्ष पदकी उम्मेदवार बनेकी उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार (हिजो) आफ्नै निवासमा बोलाएर जितको शुभकामना दिएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इञ्चार्ज विशाल खड्काले जानकारी दिए।
यता, नेकपा एमालेले मंगलबार (हिजो) मात्रै आफ्नो दलबाट उपाध्यक्षको नाम टुंग्याएको छ। एमालेबाट उमा मगर शेर्पा उपनिर्वाचनको चुनावी मैदानमा होमिने भएकी छन्।
एमाले दोलखा कमिटीले उनको नाम सिफारिस गरेको हो। सामाजिक क्षेत्रमा क्रियाशिल शेर्पा पहिलो पटक चुनावी मैदान होमिन लागेकी हुन्।
त्यसोत उपाध्यक्ष पदका लागि नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत आफ्नो दलको उम्मेदवार बनउने बताएका छन्।
यद्यपि यी तीन शेर्पाबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने निश्चित छ।
Shares

प्रतिक्रिया