राजनीति


सरकारलाई सोविताको प्रश्न- रविलाई हिरासतमा राख्नुपर्ने कुन कारण र प्रमाण छ?

सरकारलाई सोविताको प्रश्न- रविलाई हिरासतमा राख्नुपर्ने कुन कारण र प्रमाण छ?

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १५:०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले पार्टी सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध साँधेरै हिरासत राखेको भन्दै आपत्ति जनाएकी छिन्।

मंगलबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य समेत रहेकी गौतमले सत्ताधारी दलहरूसँग भ्रष्टाचारको रङ मात्रै रहेको दाबी गरिन्। 

‘हामी चुप लागेर बस्ने छैनौँ। यीनीहरूसँग विचार छैन साथीहरू। विचार त हिजो वीपी कोइरालासँग थियो, मदन भण्डारीहरूसँग थियो। यीनीहरू त केवल भ्रष्टाचारको रङ मात्रै छ, गन्ध मात्रै छ,’ गौतमले अघि भनिन्, ‘यदी विचार छ भने आऊ, हामीसँग विचारको तर्क गर, लडाईं गर। सडकमा उत्रिएका नागरिकलाई दमन गर्न प्रहरी प्रशासनलाई ठाडो निर्देशन नदेऊ।’

अधिवक्ता समेत रहेकी गौतमले आफूहरूले सरकारका सबै गतिविधि नजिकबाट नियालिरहेको बताइन्। साथै, उनले अनुसन्धानका लागि रविमात्रै नभइ प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवा पनि पर्नसक्ने भन्दै कानुनभन्दा बाहिर रहेर हिरासतमै राख्नुपर्ने कारण माग गरिन्।

‘अनुसन्धान नगर भनेको होइन, रवि लामिछानेमात्रै होइन भोलि केपी ओली, आरजु देउवा, शेरबहादुर देउवा र प्रचण्डमाथि पनि गर्नुपर्ला। कानुन सबैको लागि बराबर होला। तर, कसैलाई अनुसन्धान गर्ने नाममा प्रहरी प्रशासनले हिरासतभित्रै राखेर अनुसन्धान गर्न पनि कानुनसम्मत हुनुपर्छ,’ गौतमले भनिन्, ‘रवि लामिछानेलाई भित्रै राख्नुपर्ने सरकारसँग के त्यस्तो कारण छ? प्रमाण छ? हिरासतभित्रै राख्नका लागि पनि। कानुनमा त भागेर जान्छ, प्रमाण नष्ट गर्छ वा अपराधिक क्रियाकलाप गर्छ भने मात्रै त्यसलाई थुन्ने हो भनेको छ नि। तिमीहरू कानुनभन्दा माथि कसरी भयौ? यसलाई हामीले अत्याचार नभन्ने? यसलाई राजनीतिक षडयन्त्र नभन्ने?’

अहिले सत्ताधारी दलहरूलाई एकछिनका लागि जितेजस्तो लागेपछि यसले कहीँ नपुर्‍याउने गौतमले दाबी गरिन्। 

‘तिमीहरूलाई एकछिन जित्यौँ भन्ने लागेको होला, तर यो जितले कहीँ पनि पुर्याउँदैन,’ उनले भनिन्। 

सांसद गौतमले प्रहरी प्रशासनलाई गृह मन्त्रालयले जता फर्कायो त्यतै फर्कनपर्ने बाध्यता रहेको सुनाउँदै लोकतान्त्रिक दलको नेता गृहमन्त्री हुँदा भएको दमन भत्स्रनायोग्य रहेको बताइन्।

सभापति लामिछानेलाई आज तेस्रोपटक म्याद थपका लागि अदालत लगिएको छ। 

लामिछाने पक्राउको विरोधमा उत्रिएका ८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ। मंगलबार दिउँसो विरोधमा उत्रिएका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले कात्तिक ८ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो।

उक्त म्याद कात्तिक १४ गते नै सकिए पनि १५ गतेदेखि तिहार बिदा सुरु भएकाले उनी हिरासतमै रहे। 

आजबाट तिहार बिदा सकिएर अदालत खुलेकाले पुनः म्याद थपका लागि प्रहरीले उनलाई अदालत उपस्थित गराएको हो। 

जिल्ला अदालत कास्कीले म्याद थप गरेमा उनलाई बुटवल पठाउने तयारी छ।

बुटवलको सुप्रिम सहकारी ठगीको पूरक जाहेरीका आधारमा बयानलगायत अनुसन्धानका लागि लामिछानेलाई बुटवल लैजान लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad