राजनीति


नेपाल संवत् हाम्रो मौलिक संवत् हो : प्रधानमन्त्री

‘नेपाल भाषा बोल्न नआए पनि यस भाषाप्रति मेरो प्रेम छ’
नेपाल संवत् हाम्रो मौलिक संवत् हो : प्रधानमन्त्री

नेपाल संवत् ११४५ सुरु भएको अवसरमा शनिबार पाटनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली


रासस
कात्तिक १७, २०८१ शनिबार १०:२४, पाटन (ललितपुर)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन्।

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उनले नेपाल  संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् भएको बताए। 

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल मण्डलको संस्कृति संसारको मौलिक संस्कृति हो, ऋणमोचन गरिदिएको अवसरमा चलेको यो संवत् हाम्रो आफ्नो मौलिक संवत् हो, नेवार सभ्यता र संस्कृति महत्त्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ।’

आफू २०२७ सालमा काठमाडौँ आएपछि यहाँकै स्थानीय बासिन्दा भएको उल्लेख गर्दै उनले यहाँको भाषा, संस्कृतिप्रति प्रेम रहेको बताए।

‘मैले नेवारी परिवारमा विवाह गरेँ, तर मलाई नेवारी बोल्न आएन, तर मलाई नेपाल भाषा बोल्न नआए पनि यस भाषाप्रति मेरो प्रेम छ, नेपालका सबै भाषा, संस्कृति बचाउनु पर्छ’, उनले भने। 

उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्ययक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले हाम्रो परम्परालाई ऐतिहासिक रूपमा कायम गर्नुर्ने बताउँदै यसमा हामीले गौरव गर्नुपर्नेमा जोड दिए। 

सांसद प्रेमबहादुर महर्जनले नेपाल भाषालाई विद्यालय तहमा पठनपाठनमा नेपाल भाषालाई देशैभर ऐच्छिक भाषाका रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यसका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गराउन प्रधानमन्त्रीलाई अनुरोध गरे। 

बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री प्रेमभक्त महर्जनले नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रभावकारी बनाउन तिनै तहका सरकारले समन्वय गर्नुपर्नेत बताए। 

कार्यक्रममा तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकारले राष्ट्रिय विभूति शङ्खधर शाखाले नेपाल मण्डलका विपन्न जनताको ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको बताए। 

विसं २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति मान्यता दिएको थियो।

त्यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्‌लाई राष्ट्रिय मान्यता दिँदै सरकारी कामकाजमा प्रयोगमा ल्याउने निर्णय गरी कार्यान्वयनमा ल्याएको हो।

नेपाल संवत्‌का अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरी उत्सव र हर्षोल्लास मनाइँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad