नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गरेका छन्।
माओवादीले शनिबार आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए।
‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छु,’ प्रचण्डले भने, ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेटेको भन्नु सही होला?'
केही संचार माध्यमले प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको दाबी गर्दै समाचार लेखेका थिए।
यस्तो छ प्रचण्डको भनाइ:
एकथरी भन्छन्, म झापामा गएका बेला झापामा भनेटेर पूर्व राजा ज्ञानेन्द्र शाहलाई। एकथरीले यही भेटे भनेर एउटा बरिष्ठ पत्रकारले लेखे। बिचरा उहाँको दिमाग कसले चाट्दिएछ। ज्ञानेन्द्र शाहलाई भेटे प्रचण्डले भनेर उहाँले पनि लेखिदिनुभएछ।
म आज यो खबरदारी सभाबाट त्यस्ता भ्रामक, झुटा, बेइमानीपूर्ण प्रचार गर्नेहरुप्रति खेद प्रकट गर्न चाहान्छु। मैले भेटेको छैन। मैले झापामा पनि भेटेको छैन। बरु म एयरपोर्टमा हुँदा प्रचण्ड त्यहाँ छ भनेर राजाबीच बाटोबाटै फर्केको सुनेको थिएँ। त्यस्तो पो हो त सक्कली कुरा। अनि यहाँ म भेट्छु त?
जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि फेरि एउटा क्रान्ति गर्छु भनेर अगाडि बढेको छ, उसलाई बदनाम गर्नको लागि ज्ञानेन्द्र भेट्यो।
Shares

प्रतिक्रिया