राजनीति


सभापति रवि पक्राउविरुद्ध आन्दोलनरत रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

सभापति रवि पक्राउविरुद्ध आन्दोलनरत रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

फाइल तस्बिर: रास्वपाले शुक्रबार काठमाडौँमा गरेको प्रदर्शन


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार ८:५१, काठमाडौँ

आफ्ना सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि तनावमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) केन्द्रीय कार्यसमितिको बैठक राख्ने भएको छ। 

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार केन्द्रीय समितिको बैठक दिउँसो १ बजे वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बस्नेछ।  

बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन्। 

त्यसो त शुक्रबार बसेको रास्वपाको बैठकले सभापति पक्राउविरुद्धको प्रदर्शन जारी राख्ने कि नराख्ने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेपछि आज पुनः बैठक राख्न लागिएको हो। 

कार्यवाहक प्रवक्ता झाले भने शुक्रबारको बैठकले प्रदर्शन जारी राख्ने निर्णय गरेको तर स्वरूप निर्धारणबारे आजको बैठकमा छलफल गरिने बताएका थिए। 

सहकारी प्रकरणमा सभापति लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा लगेपछि रास्वपाले त्यहाँ दैनिक विरोध प्रदर्शन गरिरहेको थियो। तर शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेपछि थप कार्यक्रमका लागि छलफल गर्न रास्वपाले केन्द्रीय समितिको बैठक राखेको हो। 

अदालतको आदेशबमोजिम फौजदारी कसुरको अनुसन्धानको प्रक्रिया अघि बढिरहेका बेला सडकबाट दबाब दिन खोजेको भनेर रास्वपाको आलोचना भइरहेको छ।

रास्वपाले भने सरकारले राजनीतिक प्रतिशोध साँधेर आफ्ना सभापति लामिछानेलाई पक्राउ गरेको आरोप लगाइरहेको छ। 

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका रविविरुद्ध कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी छ।

पोखरापछि उनलाई बुटवलको सुप्रिम सहकारीको ठगी प्रकरणमा पनि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले दोस्रोपटक बिहीबार प्रहरीलाई अनुमति दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad