एमाले सांसद सूर्य थापाको नेतृत्वमा तयार पारिएको सहकारीसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म अध्ययन नै गर्न नपाएको बताएका छन्।
प्रधानमन्त्री ओली स्वयंले सोमबार साँझ प्रतिपक्षी दलका नेताहरूसँगको कुराकानीमा खुलाएका हुन्।
अहिले राजनीतिको सबैभन्दा चर्चित विषय दल विभाजनका लागि सरकारले ल्याउन लागेको अध्यादेश र रास्वपा सभापति रवि लामिछाने पक्राउ गरिएको सहकारी प्रकरण हो। त्यसैले बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष .पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षी दलका नेताहरूबीच पनि चर्चाको विषय बन्यो, लामिछानेको गिरफ्तारी।
प्रतिपक्षी नेताहरूले थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेलाई सहकारी ठगीमा दोषी नदेखाए पनि सरकारले पूर्वाग्रहवश पक्राउ गरेको आरोप लगाएका थिए। त्यसै प्रसंगमा ओलीले आफूले संसदीय समितिले तयार पारेको प्रतिवेदन अहिलेसम्म नपढेको दाबी गरे।
‘हुन त मैले अहिलेसम्म त्यो प्रतिवेदन पढेको छैन, तर रविको नाम प्रतिवेदनमै छ भन्छन् नि त,’ ओलीको भनाइ थियो, ‘त्यही प्रतिवेदनका आधारमा उनीमाथि कार्वाही भएको हो।’
प्रतिवेदनमा रविलाई दोषी किटान गरिएको र त्यसैका आधारमा कारबाही गरिएको प्रधानमन्त्रीको दाबीको रास्वपा सांसद शिशिर खनालले खण्डन गरेका थिए।
‘प्रधानमन्त्रीज्यू, प्रतिवेदन लेख्नेमध्येको एउटा सांसद म पनि हुँ। त्यसमा रविजीलाई दोषी किटान गरिएको छैन,’ खनालले ओलीलाई भने, ‘त्यसमा के लेखिएको छ, त्यो कुरा म यहाँ ब्रिफिङ गरौँ?’
तर, ज्ञापनपत्र बुझाउने कार्यक्रम भएकाले खनालले विस्तृत ब्रिफिङको अवसर पाएनन्।
खनाल थापा नेतृत्वको समितिमा सदस्य थिए। उनीसहित रास्वपाका नेताहरूले संसदीय समितिबाट लामिछानेले क्लिनचिट पाएको दाबी गर्दै आएका थिए।
Shares

प्रतिक्रिया