राजनीति


प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न- रविलाई जाक्ने र उपेन्द्रलाई बोक्ने किन?

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न- रविलाई जाक्ने र उपेन्द्रलाई बोक्ने किन?

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार २२:२७, काठमाडौँ

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गौर हत्याकाण्डका हत्यारालाई कारबाही गर्न माग गरेका छन्।

गौर हत्याकाण्डका हत्यारालाई कारबाही गर्न ढिलाइ किन गरेको भन्दै उनले सरकारको आलोचनासमेत गरेका छन्। 

बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा आजपा अध्यक्ष साहले गौर हत्याकाण्डका हत्यारालाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्नेमा जोड दिएका हुन्।

पीडित परिवारलाई न्याय दिलाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताउँदै उनले हत्याराहरू खुलेआम घुमिरहँदासमेत सरकार रमिते भएको आरोप लगाए। 

सरकारलाई समर्थन गरेकै आधारमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोक्ने र सरकारको विरोध गरेका कारण रास्वपा अध्यक्ष रवि लामिछानेलाई जाक्ने काम ठिक नभएको उनको भनाइ थियो।

‘सरकारको नेतृत्वमा नहुँदा हिजोको दिनमा प्रधानमन्त्री ओलीजीले संसदमा सहकारी ठगी प्रकरणमा रवि निर्दोष भएको बताउने तर आज सरकारको विरोध गरेपछि रविजी दोषी कसरी भए?’ साहले प्रधानमन्त्री ओलीसँग प्रश्न गर्दै भने, ‘सरकारको समर्थन गरेकै आधारमा गौर हत्याकाण्डका उपेन्द्रहरूलाई बोक्ने र विरोध गर्ने रविहरूलाई जाक्ने काम ठिक होइन। 

उनले सरकारको समर्थन वा विरोध गरेका आधारमा नभई प्रमाणका आधारमा कारबाही हुनुपर्ने धारणा राखे। तर सरकारले विरोध गर्ने विपक्षीलाई जेल हाल्ने र दोषी भए पनि सरकारको समर्थन गर्नेलाई बोक्ने काम गरिरहेको आरोप लगाए। 

‘गौर हत्याकाण्डका हत्यारालाई कारबाही गर्न सरकारले आलटाल गरिरहेको छ। हत्यारासँगै साटगाँठ गरेको छ। यस्तो अवस्थामा पीडितले कसरी न्याय पाउँछ?’ आजपा अध्यक्ष साहले सञ्चारकर्मीसँग भने, ‘हामीले यसबारेमा पटकपटक सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छौं। यसभन्दा अघिल्लो सरकारले कारबाहीका लागि पहल गरेको थियो। तर अहिले आएर सरकारले हत्यारासँगै साटगाँठ गरेकाले हत्याराहरू खुलेयाम घुमिरहेका छन्, सरकार रमिते भएको छ।’ 

आजपा र गौर हत्याकाण्ड पीडित संघर्ष समितिले न्यायको माग गर्दै आन्दोलन गर्दै आएको छ। गौरदेखि काठमाडौंसम्म यसबारेमा आन्दोलन हुँदै आएको छ। हत्यारालाई कारबाही नगरिए बाध्य भएर सशक्त आन्दोलनमा जानुपर्ने हुन सक्ने उनले जनाएका छन्।

२०६३ चैत ७ गते दिउँसो उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरूले २८ जना माओवादी कार्यकर्ताको निर्मम हत्या गरेका थिए। सयौँ संख्यामा निर्दोष नागरिक घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad