राजनीति


रविको विषयलाई लिएर बालुवाटारमा ओली-नेपाल भनाभन

रविको विषयलाई लिएर बालुवाटारमा ओली-नेपाल भनाभन

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार २१:५६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भनाभन भएको छ। ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका बेला ओली–नेपालबीच भनाभन भएको हो।

भनाभनको विषय भने एमाले–एकीकृत समाजवादीबीचको तीतो  सम्बन्ध होइन, पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पक्राउ पर्नुअघि दिएको भिडिओ सन्देश बन्न पुग्यो।

गत शुक्रबार पक्राउ पर्नुअघि लामिछानेले भिडिओ सन्देशमार्फत् ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ भनेका थिए।

त्यो भिडियो सन्देशमा लामिछानेले तस्करले दिएको तीन करोडको घडी हातमा लगाएर ओलीले आफ्नो हातमा हतकडी लगाएको आरोप पनि लगाएका थिए।

‘तपाईं विचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?’ लामिछानेको प्रश्न थियो, ‘तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपि दिनुपर्ने?’

‘तिमीहरु राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौ, अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने?’ उनले ओलीसँग प्रश्न गरेका थिए, ‘तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?’

भाटभटेनीबाट जग्गा दान लिएको मुद्दा मोड्नपनि आफूलाई पक्राउ गरिएको लामिछानेको आरोप थियो।

‘ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो’ उनले भनेका थिए, ‘वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।’

अन्य प्रतिपक्षी दलका नेताहरुका साथ बालुवाटार पुगेका प्रचण्डले ‘लामिछानेलाई गिरफ्तार गर्ने सरकारले आफ्नो नजिककालाई किन संरक्षण गरेर बसेको छ?’ भन्ने प्रश्न गरे।

जब लामिछानेको गिरफ्तारीको सन्दर्भ प्रचण्डले कोट्याए, ओलीले लामिछानेप्रतिको आक्रोश थाम्न सकेनन्। पक्राउ पर्नुअघि लामिछानेको ‘सरकार मरेकाले आफूलाई जुठो परेको’ भन्ने भनाईप्रति आक्रोश पोखे।

‘आज म मरेँ, मेरो दाहसंस्कार गरियो, मलामी फर्कंदै होलान्’ ओलीले लामिछानेको भनाईप्रति आक्रोस पोख्दै भने, ‘को–को किरिया बसे? म पनि किरिया बस्न जानुपर्ने हो कि?’

यति भन्दै ओलीले प्रश्न गरेका थिए, ‘यो के संस्कार हो?’

लामिछानेको भनाईलाई ओलीले संस्कारहीन करार गरेपछि त्यसको जवाफ माधव नेपालले दिए। उनको जवाफ थियो, ‘राजनीतिमा यस्तो संस्कार अरुले होइन, तपाईंले नै सिकाएको हो।’

नेपालले बाढी–पहिरो लगायतका अनेक समस्या देखिँदा पनि सरकार रमिते भएर बसेको आरोप लगाएका थिए। ओलीसँग उनको प्रश्न थियो, ‘देशमा यति ठूला–ठूला समस्या आए। यस्तो समस्या देखिँदा सर्वदलीय बैठक बस्नुपर्दैन?’

यस विषयमा प्रचण्डले पनि ओलीलाई जवाफ दिएका थिए।

‘मैले जो दोषी देखिए पनि कारबाही गरेको थिएँ, तर तपाईंले आफ्नालाई च्याप्नुभयो’ प्रचण्डले ओलीलाई भनेका थिए, ‘त्यसैले, सहकारीमा समस्या आएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad