भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गामा पार्टीको केन्द्रीय कार्यालय बनाउन लागेकोमा पार्टीभित्रबाटै विरोध भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।
असोज २५ गते प्रधानमन्त्री समेत रहेका ओलीले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए।
यसबारे एमालेभित्रैबाट पनि आलोचना भयो। स्थायी कमिटी सदस्य विन्दा पाण्डेले त व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भन्दै २८ लाख मतदाताको अपमान हुने तर्क गरेकी थिइन्।
अर्की नेतृ उशाकिरण तिम्सिनाले पनि पार्टीले दान लिनु गलत भएको बताउँदै आक्रामक सुनिएका थिए।
सोहीतर्फ संकेत गर्दै आइतबार साँझ बसेको पार्टी सचिवालय बैठकमा ओलीले अराजकहरू बढ्दै गएको टिप्पणी गरे।
‘स्थिति गम्भीर छ, पार्टीभित्रको आन्तरिक समूह पनि अराजक बन्यो,’ ओलीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले नेपालखबरसँग भने।
ओलीको यो भनाइ नेतृ पाण्डे लगायत एमालेभित्र असन्तुष्ट समूहरूलाई भनेको ती पदाधिकारीले दाबी गरे।
‘पार्टीभित्रै अराजक तरिकाले बोलिरहेका छन्, यो राम्रो भएन,’ ओलीको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘जग्गा दान दिएको हो। सहयोग गर्यो भन्ने मात्रै हो। अरु त्यस्तो केही भएन।’
Shares

प्रतिक्रिया