धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले वडा नं ११ का वडा अध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यावाहक प्रमुखको जिम्मेवारी दिन गरेको निर्णय अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले यस्तो आदेश दिएको हो।
वडाअध्यक्षलाई कावा मेयरको जिम्मेवारी दिने निर्णयविरुद्ध धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले अदालतमा चुनौति दिएका थिए।
नगर प्रमुख राई २०८१ गत असोज २८ देखि बेलायतकोे भ्रमणमा जाने हुँदा आफ्नो अनुपस्थितिमा ११ नं. वडाका वडा अध्यक्ष फागोलाई कावा तोकेका थिए।
अन्तरिम आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हो? भाग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सोसमेत उल्लेख गरी यो म्याद सूचना प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षीहरूले आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र निवेदनपत्रको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नू।’
Shares

प्रतिक्रिया