राजनीति


१८ महिना ‘हलगोरु’जस्तै मिलेका धरानका मेयर-उपमेयर किन जुध्दै छन् अहिले?

१८ महिना ‘हलगोरु’जस्तै मिलेका धरानका मेयर-उपमेयर किन जुध्दै छन् अहिले?

रामकुमार डिसी
कात्तिक ३, २०८१ शनिबार १०:२४, काठमाडौँ

मेयरका कारण सधैँ चर्चा र विवादमा भइरहने धरान पछिल्लो समय फेरि विवादमा छ। दुई साता लामो बेलायत यात्रामा निस्कँदा मेयर हर्क साम्पाङले कार्यवाहक मेयरको जिम्मेवारी उपमेयरको साटो वडाध्यक्षलाई दिएपछि फेरि विवाद सुरू भएको हो।

साम्पाङले आफू बेलायत उड्नुअघि धरान उपमहानगरपालिका–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्। आफूलाई छलेर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उपमेयर अइन्द्रविक्रम बेघा असन्तुष्ट छन्। 

स्थानीय सरकार सञ्चालन ऐन विपरीत मेयरले कार्यवाहक तोकेको उनको भनाइ छ। 

‘कार्यकारी तोक्ने कुरा तजबिजी अधिकार होइन,’ बेघा भन्छन्, ‘स्थानीय सरकार सञ्चालन ऐनको दफा, उपदफाहरूमा प्रष्ट लेखिएको छ। व्यक्तिगत ढंगले मलाई लागेर, अथवा कसैलाई लागेर तजबिजी अधिकार दिने कुरा होइन।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ क १२ मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकामा नगर प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ व्यावस्था छ।

ऐन विपरीत कार्यवाहक मेयर तोक्ने साम्पाङको निर्णयको नेपाली कांग्रेस बाहेकका अधिकांश दलले विरोध गरेका छन्। स्थानीय ६ राजनीतिक दलले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा ‘ऐनले व्यवस्था गरेको उ प्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैरकानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमामाथि आँच आउनेगरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित गर्ने अत्यन्तै निच कार्य गरेको’ ठहर गरेको छ। 

मेयर साम्पाङले भने आफूलाई सहज लागेकाले वडाध्यक्षलाई कार्यवाहक दिएको बताएका छन्। यसअघि पनि वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको र अघिल्ला प्रमुखले पनि त्यस्तै गरेको दाबी उनले गरेका छन्। 

अघिल्ला सरकारले पनि वडाध्यक्षलाई त्यस्तो जिम्मेवारी दिने गरेको भन्ने हर्कको भनाइको धरानका पूर्वमेयर तिलक राईले प्रतिवाद गरेका छन्। मेयर र उपमेयर एकसाथ डेलिगेसनका लागि नगरपालिकाबाहिर गएका बेला मात्रै आफूले वडाध्यक्षलाई कार्यभार तोकेको उनको भनाइ छ। 

‘मैले सिधै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको छैन,’ उनको प्रष्टीकरण छ, ‘म कार्यरत भएका बेला हामीले तीनचारचोटि वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएको हो। तर, त्यो उपप्रमुखसहित नगरप्रमुख डेलिगेसनमा गएका बेला दिएका थियाँं। त्यसमा कुनै विवाद भएको थिएन।’

पहिले ‘हलगोरु’जस्तै 
स्वतन्त्ररूपमा निर्वाचित मेयर र नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित उपमेयर भएको भए पनि साम्पाङ र बेघाबीच सुरुमा महिना निकै मिल्ती थियो। 

सुरुका करिब १८ महिना हर्क र अइन्द्र जहाँ गए पनि सँगै हुन्थे। उनीहरूले बोल्ने भाषा पनि उस्तै हुन्थ्यो। मेयर–उपमेयर जोडीको त्यस्तो मिलापलाई स्थानीयहरू ‘हलगोरू’को संज्ञा दिन्थे।

काठमाडौँमा राजनीतिक पहुँच भएका उपमेयर बेघा सुरुवाती दिनमा मेयर साम्पाङका राजनीतिक गुरु जस्तै भए। उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्री र नेताहरूसँग भेटघाटको व्यवस्थापन समेत गरिदिए। 

हर्कले सुरु गरेको वृक्षारोपणलाई साथ दिन प्रचण्ड धरान गएका थिए, जसमा उपमेयर बेघाकै हात थियो। २०७९ भदौमा धरान पुगेका प्रचण्डले माओवादीले गर्नुपर्ने काम गरिदिएको भन्दै हर्कको प्रशंसा समेत गरेका थिए। 

‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’ उनले भनेका थिए, ‘हामी कम्युनिस्टहरूले र अझ खासगरी माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’

उपमहानगरका वडाध्यक्षहरूले मेयर साम्पाङविरुद्ध आन्दोलन चर्काउँदा बेघाले बलियो साथ दिए। माओवादीबाटै निर्वाचित वडाध्यक्ष मनोज भट्टराईले वडाध्यक्षहरूको आन्दोलनको नेतृत्व गर्दा उपमेयर बेघा भने मेयरकै पक्षमा अन्तिमसम्म उभिएका थिए। 

अनि बिग्रियो सम्बन्ध
मेयरविरुद्ध वडाध्यक्षले थालेको आन्दोलनले लामो समयसम्म नगर कार्यपालिकाको बैठक बस्न सकेन। अवरोधको शृंखला लामो समयसम्म नतोडिएपछि उपमेयर बेघाले २०८० वैशाख २६ गते विज्ञप्ति जारी गरे, जसमा हर्कलाई अभिभावकको भूमिका निर्वाह गर्दै संवाद थाल्न सुझाव दिए। 

‘नगरप्रमुखज्यूले अभिभावकत्वको भूमिका निर्वाह गरी वार्ता, संवाद, सहकार्य र सहमतिको माध्यमबाट सबै खालका समस्याहरूको समाधान गर्दै अगाडि बढ्नु पर्ने देखिन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि विशेष गरेर वडाध्यक्षज्यूहरूले राख्नु भएका जायज मागहरूलाई सम्बोधन गरी कार्यपालिका बैठक तुरुन्त राख्न पहल गर्नुपर्ने देखिन्छ।’

यसले हर्कको मनमा चिसो पस्यो। आफूलाई उपमेयरले पनि असहयोग गर्न थालेको मेयर साम्पाङले महसुस यहीँबाट गर्न थाले। तर, २०८० पुस १२ गते मेयर साम्पाङले चालेको एउटा कदम ‘हलगोरु’ जस्तो सम्बन्धमा रहेका मेयर–उपमेयर सम्बन्ध बिगार्ने विन्दु बन्यो।

उपमहानगर स्थापना दिवसका दिन मनाउन लागिएको ‘धरान डे’मा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेका भए पनि नगएपछि त्यसको झोँकमा मेयर हर्कले आफ्नो कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो निकालेर त्यसको ठाउँमा प्रथम किराती राजा यलम्बरको तस्बिर राखे। 

यसबाट सबै राजनीतिक दल रिसाए। त्यो प्रकरणमा उपमेयर बेघाले नगरपालिकाकै लेटरहेडमै विज्ञप्ति जारी गरे, जसमा मेयरको कदमलाई अनुचित ठहर्‍याइएको थियो। 

‘धरान उपमहानगरपालिकाका नगरप्रमुखज्यूले आफ्नो कार्यकक्षबाट राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूको फोटोहरू हटाएको विषयले दुःखी बनाएको छ, जसबाट सम्माननीयमाथि पर्न गएको असरप्रति दुःख व्यक्त गर्दै क्षमा समेत माग्दछु,’ उनको विज्ञप्तिमा भनिएको छ। 

मेयरको कदमलाई गणतान्त्रिक व्यवस्थाप्रतिको अनादरका रूपमा समेत उपमेयर बेघाले अथ्र्याएका थिए। 

‘यही व्यवस्था अन्तर्गत एक तहको नेतृत्वले सामाजिक सञ्जाल मार्फत संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाप्रति अनादर हुने किसिमका अभिव्यक्ति दिनु प्रचलित कानुनको बर्खिलाप गर्नु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘व्यवस्थाको विरोध गर्नु हो।’

यो विज्ञप्तिपछि मेयर हर्क उपमेयर बेघाप्रति आक्रामक बन्दै गए। ‘मान्छे मारेर आएको’, ‘विषालु’ जस्ता संज्ञा दिएर फेसबुकमा गाली बर्साउन थाले।

यसविरुद्ध बेघा नगर कार्यपालिका बैठकमै कड्किए। 

‘तपाईंको कुन चाहिँ एजेन्डाको विरोध गरेँ? अभियानलाई असहयोग गरेँ? त्यो पुष्टि गरिदिनू,’ उनले मेयरलाई सोधेका थिए, ‘म तपाईंलाई चुनौती दिन चाहन्छु– १८ महिनामा कुन–कुन एजेन्डा, कुन–कुन विषयमा असहयोग गरेँ। तपाईंले ढुंगा बोकेर गएकोमा असहयोग गरेर गएँ कि? तपाईंलाई पाइप तानेर गएकोमा विरोध गरेर गएँ कि? तपाईंले रोपेको बिरुवाको विरोध गरेर गएँ कि?’ 

त्यसयता भने मेयर–उपमेयरबीच सम्बन्ध समधुर बन्न सकेन। उपमेयर निकटहरू मेयर साम्पाङले बैठकका एजेन्डा तय गर्ने कुरामा कहिले पनि उपमेयरसँग सल्लाह नगर्ने, प्रचण्डलाई ‘धरान डे’ कार्यक्रममा बोलाउँदा पनि उपमेयरसँग कुनै सल्लाह नगरी एक्लै गएर निमन्त्रणा गरेको, उपमेयरले गाडी बेच्यो भनेर मिडियाबाजी गराएको तर आफैँले नयाँ गाडी किनेको गुनासो गर्छन्।

तर मेयर साम्पाङको उपमेयरप्रतिको चित्त दुखाइ पनि कम्ता छैन। बेलायत पुगेका उनले शुक्रबार फेसबुकमार्फत उपमेयर लक्षित व्यंग्यात्मक पोस्ट गरेका छन्।

उनले लेखेका छन्, ‘धरानको विकासलाई केन्द्रविन्दु बनाएर विदेश जाँदै गरेको नगरप्रमुखलाई शुभयात्रासम्म भन्न नसक्ने र सुरक्षित यात्राको कामनासहित हात मिलाउनसम्म नसक्ने ‘ऐन–कानुन’लाई कार्यवाहक चाहियो भन्दा त ‘ऐन–कानुन’ लाई देखेर लाज लाग्यो मलाई! हैट कस्तो लाज पचेको ऐन कानुन रैछ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad