राजनीति


प्रधानमन्त्री ओलीलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा पर्‍यो उजुरी

प्रधानमन्त्री ओलीलाई पक्राउ गर्न माग गर्दै अख्तियारमा पर्‍यो उजुरी

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १२:५३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। पार्टी कार्यालय निर्माणमा व्यापारीसँग जग्गा लिएको विषयमा सिन्धुलीका युवराज पौडेल (सफल) ले बिहीबार आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन्। 

उनले दर्ता गराएको उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ।

देशकै प्रधानमन्त्रीले कानुन उल्लंघन गरेको उल्लेख गर्दै उनले उजुरीमा भनेका छन्, ‘सो कार्यमा संलग्न वा विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुस बापत लिने र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्दाहरू खारेज गर्ने नियतका साथ करोडौँ रुपैयाँ बराबरको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केट प्रा.लि.का संचालक मीनबहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने।’

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले  एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा छ।

उक्त विषय विवादमा परेसँगै एमालेले विभिन्न सञ्जालहरूमा भइरहेको टिप्पणी खेदजनक भएको बताएको छ। 

एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा गुरुङले दान गरेका थिए।

एमालेले भने व्यवसायी मीनबहादुर गुरुङ विद्यार्थीकालदेखि नै आफ्ना कार्यकर्ता रहेको भन्दै उक्त विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी नगर्न आग्रह गरेको छ। 

विसं २०७२ मा आएको भूकम्पबाट काठमाडौँ महानगरपालिका–१४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयविहीन भएको र त्यसबीचमा भाडामा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad