नेकपा एमालेले केन्द्रीय कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङ विद्यार्थीकालदेखि नै आफ्ना कार्यकर्ता रहेको भन्दै उक्त विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी नगर्न आग्रह गरेको छ।
पार्टीको वैचारिक र राजनीतिक सामीप्य रहेको व्यक्तिले अन्तरमनबाट पारदर्शी र खुला दिलले दान गरेको र पार्टीले ग्रहण गरेको एमालेको जिकिर छ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्। ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य छ।’
एमालेले मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङलाई एक व्यवसायी, लोकतन्त्रवादी व्यक्तित्व, पार्टीका समर्थक र शुभचिन्तक भन्दै उनीहरूबाट कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क प्रदान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गरेको जनाएको छ।
गत असोज २४ गतेको सचिवालयको ३८औँ बैठकले संस्थागत रूपमा उक्त दान स्वीकार गरी उनलाई सहयोगका निम्ति धन्यवाद दिई यही असोज २५ गते औपचारिकरूपमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालयको शिलान्याससमेत गरिसकेको विज्ञप्तिमा उल्लेख छ।
एमालेलाई ७० करोडको जग्गा दिने मीनबहादुर, जसले चार दशकअघि ३५ हजारमा सुरु गरेका थिए व्यवसाय
जग्गादाता गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैङ्किङ क्षेत्रमा पार्टीसम्बद्ध कर्मचारीको केन्द्रीय कार्यसमिति सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यमा रहेको तथ्य जगजाहेर भएको एमालेले जनाएको छ।
‘अन्तरमनबाट पारदर्शी र खुला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ। यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूका बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही छैन।’
लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा रहेकाले तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि ग्राह्य हुने जनाएको छ।
‘विगत ९ वर्षदेखि अस्तव्यस्त केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्ने क्रममा रहेका थियौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै सिलसिलामा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक (८–९ वैशाख २०८१, गोदावरी ललितपुर) बाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिंगो बैठकबाट आह्वान गरेका थियौँ।’
त्यसयता सम्पन्न केन्द्रीय कमिटीलगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आह्वान भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कमिटीसमेत गठन भएको एमालेले जनाएको छ।
विसं २०७२ मा आएको भूकम्पबाट काठमाडौँ महानगरपालिका–१४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयविहीन भएको र त्यसबीचमा भाडामा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ।
विज्ञप्तिको पूरा पाठ
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त भएको जग्गाका विषयलाई लिएर भएका छलफल, बहस र टिप्पणीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पबाट काठमाडौँ महानगरपालिका वडा नं. १४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि नेकपा (एमाले) कार्यालयविहीन भएको ब्यहोरा सर्वविदितै छ। त्यसबीचमा भाडामा धुम्रबराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको कुरा विदितै छ। यस वर्षमात्र चारपटक च्यासलस्थित कार्यालय बाढीको चपेटामा परी केन्द्रीय कार्यालय मुख्य सेटअफ (केन्द्रीय कार्यालय, लाइबे्ररी, स्टोर, आईटी, प्रशिक्षण कक्ष, सभाहलहरू र प्रशासनिक कक्षसमेत पूर्णरुपमा ध्वस्त भई नियमित कार्य गर्न समेत कठिनाई भई नयाँ कार्यालयको खोजीमा थियौं।
विगत नौ वर्षदेखि अस्तव्यस्त रहेको केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्नेक्रममा रहेका थियौं। यसै सिलसिलामा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक (८–९ वैशाख २०८१, गोदावरी ललितपुर) बाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिंगो बैठकबाट आह्वान गरेका थियौं। त्यसयता सम्पन्न भएका केन्द्रीय कमिटीलगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आह्वान भएको र पार्टीका बरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलको संयोजकत्वमा कमिटी समेत गठन भएको ब्यहोरा सार्वजनिक नै छ।
यसैक्रममा नेपाली माटोमा हुर्किएका एकजना सफल व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व हाम्रो पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र वहाँकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका वडा नं. २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको छ। यसलाई २०८१ असोज २४ गते बसेको सचिवालयको ३८औं बैठकले संस्थागत रुपमा स्वीकार गरी वहाँलाई सहयोगका निम्ति धन्यवाद दिएको छ। असोज २५ गते औपचारिक रुपमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा भव्य र पारदर्शी ढंगले केन्द्रीय कार्यालयको शिलान्यास समेत गरिसक्नुभएको छ।
जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टिकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्। ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ।
स्मरणरहोस्, निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ्ग सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ।
अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले वहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं। यसमा कुनै किसिमको पनि सौदावाजी र लेनादेना छैन। वहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको ’boutमा उहाँ आफैंले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन।
लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको छ। यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको ब्यहोरा अनुरोध गर्दै तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि गाह्रय हुनेछन्।
राजेन्द्र गौतम
प्रमुख
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग
Shares

प्रतिक्रिया