राजनीति


एमालेलाई ७० करोडको जग्गा दिने मीनबहादुर, जसले चार दशकअघि ३५ हजारमा सुरु गरेका थिए व्यवसाय

एमालेलाई ७० करोडको जग्गा दिने मीनबहादुर, जसले चार दशकअघि ३५ हजारमा सुरु गरेका थिए व्यवसाय

सम्झना घिमिरे
असोज २८, २०८१ सोमबार १९:१५, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट असोज २३ गते साँझतिर केन्द्रीय सचिवालय सदस्यहरूलाई सन्देश पठाइयो, ‘भोलि पौने १२ बजे बैठक बसौँ। स्थानः केन्द्रीय कार्यालय, च्यासल।’

दसैँको तयारीमा लागिसकेका पार्टीका नेताहरूलाई यो खबर अनपेक्षित थियो। एकाएक सचिवालय बैठक किन डाकियो? एकाधबाहेक कसैलाई थाहा थिएन।

भोलिपल्ट बैठक बस्यो। बैठकमा केहीबेरको ब्रिफिङपछि निर्णय सुनाइयो, ‘एमालेको केन्द्रीय कार्यालय अब कीर्तिपुर–२, मैत्रीनगरमा बन्छ। अध्यक्ष ओलीबाट भोलि (असोज २५) नै शिलान्यास हुन्छ।’

पार्टीका नेताहरूलाई यो दोस्रो ‘सरप्राइज’ थियो।

किनभने, यिनै अध्यक्ष ओलीले २०७८ वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ पार्टी कार्यालय भवनको शिलान्यास गरिसकेका थिए। त्यहाँ एमालेसँग ९ रोपनी जग्गा छँदै थियो। र, एमालेले केन्द्रीय कार्यालय भवनकै लागि पार्टी सदस्यहरूबाट रकम संकलन अभियान चलाइरहेको थियो।

जब असोज २५ गते बिहान १० रोपनी १४ आना जग्गामा बन्न लागेको एमाले केन्द्रीय कार्यालयको शिलान्यास भयो, एमालेका नेतादेखि कार्यकर्ता मात्र होइन, खबर थाहा पाउने सबैजसो आश्चर्यचकित भए। किनभने, त्यो जग्गा त एक जना व्यवसायीले चन्दावापत दिएका रहेछन्। अनि ती व्यवसायी सदम्पती शिलान्यास कार्यक्रममा उपस्थित भई त्यसमा बन्ने बहुतले ‘मदन भण्डारी स्मृति भवन’ पनि आफैले चन्दास्वरूप नै बनाइदिने घोषणा गरे।

यसरी ‘सरप्राइज’ दिने ती व्यवसायी अरू कोही नभएर भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ थिए। यसअघि उनले त्रिवि शिक्षण अस्पतालका दुईवटा भवन बनाइदिएका थिए। आफ्ना बुवा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङका नाममा २०६८ सालमा ११ करोड लगानीको आकस्मिक कक्षसहितको भवन बनाइदिएका थिए भने पछि १५ करोड लागतमा अर्को भवन बनाउन सहयोग गरेका थिए। पछिल्लोपल्ट उनले डा भगवान् कोइरालाको अगुवाइमा सातवटै प्रदेशमा बाल अस्पताल बनाउन ४१ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेका थिए। यी त उनले सामाजिक क्षेत्रमा गरेका केही देखिने खालका योगदान थिए।

तर, यसपालि उनले राजनीतिक दललाई घोषित रूपमा आफै उपस्थित भएर यो सहयोग गरे। सम्भवतः नेपाली राजनीतिमा सार्वजनिकरूपमा घोषणा गरेर राजनीतिक दललाई दिइएको चन्दा यो नै सबैभन्दा ठूलो हो। 

कीर्तिपुर-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय शिलान्यास गरिएको जग्गा

व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमालेलाई दिएको जग्गा १० रोपनी १४ आना रहेको बताइएको छ।

जग्गा व्यवसायीहरूका अनुसार काठमाडौँमा नयाँ घडेरी विकास भइरहेका क्षेत्रमा औसत ४० लाख रुपैयाँ प्रतिआनामा कारोबार भइरहेको छ। कीर्तिपुर–२, मैत्रीनगरका स्थानीय सुशील बाँस्कोटाका अनुसार मैत्रीनगर क्षेत्रमा पनि ४० देखि ५० लाख प्रतिआना चलनचल्तीमा छ। ४० लाख रुपैयाँ प्रतिआनामा हिसाब गर्दा १ सय ७४ आना क्षेत्रफल रहेको यस जग्गाको मोल ६९ करोड ६० लाख रुपैयाँ हुन आउँछ।

एमालेले चाहेजस्तो अत्याधुनिक भवनसमेत बनाइदिने भएपछि उनको लगानी कम्तीमा पनि डेढ अर्ब नाघ्नेछ।

कुनै बेला नेपाल बैंकका सहायकस्तरका कर्मचारी थिए मीनबहादुर गुरुङ। अहिले भाटभटेनी सुपरमार्केटबाटै देशमा व्यावसायिक पायोनिर बन्न सफल भएका छन्। देशभर २२ हजार कर्मचारीबाट २७ वटा स्टोर सञ्चालन गरिहेका छन्। 

यति ठूलो व्यापारिक साम्राज्य फैलाएका र झण्डै अर्बको हिसाबमा दान गर्ने मीनबहादुर गुरुङको पृष्ठभूमि आम नेपालीको जस्तै छ। उनी कुनै व्यावसायिक घरानामा जन्मिएका होइनन्। खोटाङ जिल्लाको विकट गाउँ सिम्लेको किसान परिवारमा २०१४ सालमा उनी जन्मिए। काठमाडौँ पढ्ने र जागिर खाने धोकोसहित २०३१ सालमा काठमाडौँ पसेका थिए। त्यसअघि धरानबाट आईए गरे।

एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा ओली र गुरुङ दम्पती

२०३२ सालमा खुला प्रतिस्पर्धाबाट नेपाल बैंकमा सहायक पदमा नाम निकालेर जागिर सुरु गरे। केही समयपछि नेपाल बैंकमै साहयक प्रबन्धक बनेका गुरुङ जागिरे पाराले आर्थिक प्रगति हुन सक्दैन भन्ने निष्कर्षमा पुगे। र, व्यवसायमा होमिए। 

उनले २०४१ सालमा काठमाडौँको भाटभटेनी मन्दिरनजिकै एउटा कोठामा ३५ हजार रुपैयाँ लगानी गरेर किराना पसल खोलेका थिए। त्यही ३५ हजार नै उनको अहिलेको व्यावसायिक साम्राज्यको बीज थियो। त्यही किराना पसलले ४० वर्षको अवधिमा नेपालकै नम्बर वान सुपरस्टोरको परिचय बनाएको छ। 

झण्डै ९ वर्ष किराना पसल चलाएका गुरुङले भाटभटेनी मन्दिर छेवैमा २०५० सालमा भाटभटेनी सुपमार्केट विधिवत् रूपमा सञ्चालनमा ल्याएका हुन्। उनले भाटभटेनीको नामबाटै किराना पसल सञ्चालनमा ल्याएका थिए। सुपरमार्केटको नाम पनि त्यही राखे।

३९ वर्षअघि ३५ हजार रुपैयाँ लगानी गरेर सुरु भएको भाटभटेनी अहिले देशकै सबैभन्दा ठूलो सुपरमार्केट बनेको छ भने २२ हजार कर्मचारीबाट दैनिक ५० हजारपटक कारोबार हुने स्टोरको रूपमा उभिएको छ। भाटभटेनी स्टोरले अहिले वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्छ।

भाटभटेनीमा ६० प्रतिशत सेयर मीनबहादुर गुरुङको छ भने बाँकी ४० प्रतिशत उनकी श्रीमती सावित्री घलेको नाममा छ। 

यसअघि पनि राजनीतिकरूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट मानिने गुरुङ ललिता निवास प्रकरणमा मुछिएपछि भने एमालेतिर नजिकिएका थिए। काठमाडौँको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर बेचेको अभियोगमा उनले मुद्दा खेपिरहेकै छन्। विशेष अदालतले उनलाई २ वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना तोकेको छ भने यसै प्रकरणमा लिखतसम्बन्धी कसुरको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।  

शिलान्यास कार्यक्रममा गुरुङ आफैले एमालेनिकट भएकै कारण जग्गा दान दिएको र भवनसमेत निर्माण गरिदिने बताएका छन्।

‘म पार्टीसँग नजिक भएको कारणले पनि मेरो कर्तव्य पूरा गरेको हुँ,’ गुरुङले भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad