राजनीति


जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता

जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता

नेपालखबर
असोज २९, २०८१ मंगलबार १८:१७, काठमाडौँ

अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकङ्ग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच आज (मंगलबार) दिउँसो जेनेभामा भेटवार्ता भएको हो।

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदान प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको थियो।

सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रुपमा रहने बताए। दुई देशबीच राजनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको अध्यक्ष दाहालले बताए।

सन् २०२२ मा चिनियाँ जनकङ्ग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले दुई देशबीचका संसदको सहकार्यले एक अर्काका अनुभव आदान प्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसर पनि हुने बताए।

नेपालको विकासमा चीनको सहयोग रहँदै आएको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा अझै सहयोगको मात्रा बढ्ने आफूहरुले विश्वास लिएको स्पष्ट पारे।

उनले भने, ‘नेपाल सन् २०२६ मा कम विकसित देशबाट स्तरोन्नति हुने लक्ष्य लिएको छ। यस लक्ष्यलाई दिगो, अपरिवर्तनीय र सहज बनाउन मित्र राष्ट्रहरुको सहयोग र सद्भाव हाम्रो प्राथमिकतामा रहेको छ। यसमा चीनको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने हामीलाई विश्वास छ।’

दुई देशबीच आपसी हितका विषयहरुमा क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहकार्य भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहेको बताए।

सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष तियान सुइजनले चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस र नेपालको संसदसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न र संसदीय मैत्री समूहमार्फत् सम्बन्ध विस्तार गर्न चाहेको बताए।

दुई देशका संसदबीचको सहकार्य, भ्रमण आदान प्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र दुई देशको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने उनको भनाई थियो।

चीनले नेपाललाई आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सहयोग गर्न कुनै कसर बाँकी नराख्दै भन्दै उपाध्यक्ष थ्यानले बिआरआईमार्फत् सडक, रेल्वे लगायतका पूर्वाधार विकासका योजनाहरुमा सहयोग गर्न चाहेको बताए।

भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad