राजनीति


प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : चार महिनादेखि तयारी, एक महिनाअघि शिक्षण अस्पतालमा गर्ने निर्णय

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : चार महिनादेखि तयारी, एक महिनाअघि शिक्षण अस्पतालमा गर्ने निर्णय

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ११:४६,

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गर्ने भन्ने तयारी एक महिना अघिबाटै भएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिब्यासिंह शाहले जानकारी दिएकी छन्।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. शाहले तीन/चार महिनाअघिबाट प्रधानमन्त्रीको स्वास्थ्य जाँच लगायतको तयारी भएको र एक महिना अघि शिक्षण अस्पतालमै गर्ने निर्णय भएको जानकारी दिइन्।

‘प्रधानमन्त्रीज्युको मिर्गौलाले काम गर्न छाडेदेखि नै हामीले प्रत्यारोपणका लागि सुझाव दिन थालेको हौँ, किनभने डायलासिसमा भन्दा प्रत्यारोपणमा मान्छेको स्वस्थ्यस्थिति राम्रो हुन्छ’, उनले भनिन्, ‘त्यो बेलादेखि नै हामीले बिस्तारै तयारी गर्न थालेका हौँ।’

उनले त्यसक्रममा प्रधानमन्त्री ओलीको तीन-चार महिना लगाएर स्वास्थ्य परीक्षण गरिएको बताइन्। ‘प्रत्यारोपण गरेपछि पहिलेको स्वास्थ्य अवस्थाभन्दा राम्रो हुन्छ कि हुँदैन, सफल हुने सम्भावना कति छ भनेर परीक्षण गर्‍यौँ’, उनले भनिन्, ‘प्रत्यारोपण गर्नका लागि उहाँ योग्य हुनु भएपछि हामीले डाटा हेर्‍यौँ र डाटाहरुमध्येबाट उहाँलाई मिल्ने डाटाको परीक्षण गर्‍यौँ। यो अहिले होइन तीन चार महिना अघिदेखि लगातार रुपमा गर्दै आएका हौँ। सबैचीज मिलिसकेपछि सम्भवतः एक महिना अगाडि शिक्षण अस्पतालमा गर्ने कुरा फाइनल भएको हो।’

उनले आफूले नै शिक्षण अस्पतालको कार्यकारी निर्देशकलाई भेटेर जानकारी गराएको बताइन्।

निजी चिकित्सक शाहले प्रधानमन्त्री ओली छिट्टै डिस्चार्ज हुन चाहे पनि परिवारको आग्रहमा अस्पतालको बसाइ लम्बिएको बताइन्। उनले आफूहरु प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ढुक्क नभएसम्म डिस्चार्ज गर्ने तयारीमा नरहेको समेत प्रस्ट पारिन्।

‘प्रधानमन्त्री तुरुन्तै अस्पतालबाट जान चाहनुहुन्छ’, प्राडा शाहले भनिन्, ‘उहाँकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ, उहाँहरुले तयारीको समय पनि माग्नु भएको छ।’

 उनले प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भएका कारण छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको र डिस्चार्ज हुनुभन्दा अगाडि नै आफूहरुले त्यसको जानकारी दिने बताइन्।

‘जबसम्म हामी विश्वस्त हुदैनौं तबसम्म डिच्चार्ज गर्दैनौं, प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु’ उनले भनिन्।

उनले प्रधानमन्त्रीको स्वास्थ्य सुधारको अवस्था राम्रो भए पनि पुरै सक्रिय हुन ६ महिनासम्म लाग्न सक्ने बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीलाई भीडभाडमा जान सल्लाह दिँदैनौं, पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्न सक्छ।’ प्रधानमन्त्रीलाई नियमित काम गर्न भने कुनै समस्या नहुने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad