प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्।
प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजयादशमीको टीका उल्लासमय नहुने भन्दै प्रधानमन्त्रीले ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका हुन्।
यस पटक परिवारका सदस्यसँग बाहेक टीका लगाउने कार्यक्रम नरहेको सन्देश उनले शुक्रबार एक भिडिओमार्फत दिएका हुन्।
‘दसैँको ठिक्क मुखमा, दसैँअघि आएको भीषण बाढी र पहिरोका कारण हाम्रा दुई सयभन्दा दिदीबहिनी दाजुभाइहरूले, निर्दोष बालबालिकाले, अशक्त जेष्ठ नागरिकले ज्यान गुमाउनुपर्यो,’ भिडिओ सन्देशमा प्रम ओलीले भनेका छन्, ‘कति घाइते हुनुपर्यो, धेरै जनधनको क्षति भयो। भौतिक पूर्वाधारहरू, पुल, बाटाहरू ध्वस्त भए। खानेपानी ध्वस्त भए। धेरैलाई घरबारविहीन बनायो। परिवारका सदस्यहरूलाई बाढीपहिरोले चुडेर लग्यो। यस विपद्को घडीमा हामी त्यति उल्लासपूर्ण ढंगले दसैँमा मनाउन सकिरहेका छैनौँ। जति मनाउने गथ्र्याैँ, मनाउन चाहिरहेका थियौँ।’
देशवासी रमाउन नसकिरहेका बेला आफू पनि रमाउन नसकेको भन्दै ओली भनेका छन्, ‘यतिबेला मेरो मन भारी भइरहेको छ। दसैँको उल्लासमा रमाउनुपर्ने बेला, हाम्रा दिदीबहिनी, दाजुभाइहरू पनि रमाउन नसकिरहेको अवस्थामा म पनि त्यति रमाउन सकिरहेको छैन।’
आफूले सरकारको नेतृत्व गरिरहेकोले आफूमा उत्तरदायित्व पनि हुने भन्दै भिडिओमा ओलीले भनेका छन्, ‘सरकारको नेतृत्व गरिरहेको हुनाले मेरो काँधमा थप जिम्मेवारी छ। उहाँहरूको आँसु पुछ्ने, उहाँहरूका घाउमा मल्हम लगाउने, जो पीडित हुनुहुन्छ, उहाँहरूलाई राहत दिने, पुननिर्माणमा कामहरू यथाशीघ्र बनाउने, तयार गर्ने, पुननिर्माण गर्ने र दसैँको बेलाका, चाडबाडका आवागमनलाई सहज, सुगम बनाउने जिम्मेवारी छ। म यस उत्तरदायित्वमा लागिरहेको यस घडीमा सबैलाई धैर्यधारण गर्न पनि आग्रह गर्दछु।’
प्रधानमन्त्री ओलीको सन्देश:
Shares

प्रतिक्रिया