राजनीति


स्वास्थ्यमन्त्रीले भने : सरकारले क्वारेन्टाइनको व्यवस्था गर्न सक्दैन, आफैँ बस्नुपर्छ (भिडियो)

स्वास्थ्यमन्त्रीले भने : सरकारले क्वारेन्टाइनको व्यवस्था गर्न सक्दैन, आफैँ बस्नुपर्छ (भिडियो)

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ८:४६,

कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने बताएका हुन्।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए। ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उनले बताए।

Image may contain: 7 people, indoor

कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने मन्त्री ढकालले बताए। ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरिपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने उनको भनाइ छ।

‘विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश हुन्छ। १४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ’, उनले भने, ‘क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ। अब सेल्फ (आफैँ) क्वारेन्टाइनमा बस्नुपर्छ । डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो। दिनैपिच्छे ज्वरो आको छ छैन भन्ने नाप्न सकिहाल्छ। कति दूरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौँ।’

युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारीक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सरकारले संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचार–प्रसार गर्न आवश्यक कदम चाल्न पनि आग्रह गरेको छ। विमानस्थल, भारतीय सीमा नाकाहरुमा स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस संक्रमित देशबाट नेपाल आउने जो कोहीलाई क्वारेन्टाइन्मा राख्ने व्यवस्थाले मात्रै संक्रमण नफैलने सुनिश्चितता गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले बताए।

सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरान लगायतका मुलुकबाट आउने यात्रुहरुलाई भिसा-अन-अराइभल राेकेकाे छ र आगमनमा कडाइ गरेको छ। नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि अस्पतालमा चेकजाँच गर्न जानेहरुको संख्या भने बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad