ad ad

राजनीति


माओवादी केन्द्रलाई कांग्रेसले भन्यो– संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन

माओवादी केन्द्रलाई कांग्रेसले भन्यो– संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १८:४, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध नगर्न नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेको छ।

कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले संसदमा प्रयोग हुँदै आएको हिंसा शब्दलाई लिएर संसद बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता नदिन माओवादी केन्द्रलाई आग्रह गरेका हुन्। 

एउटा सांसदले संसदमा प्रयोग गरेको शब्दलाई कोटयाइरहनुपर्ने आवश्यक्ता नभएको उनको जिकिर थियो । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा शब्द प्रयोग गरेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै त्यो शब्द संसदका रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो।

‘यसलाई सत्तापक्ष र विपक्षको रुपमा हेर्नु भन्दा पनि संसदमा सदस्यहरुले आ आफ्नो कुरा प्रकट गर्दछन्। त्यो सबैमा सहमति भएर बोलेको कुरा हुँदैन पहिलो कुरा। दोस्रो कुरा, अब त्यस सम्बन्धमा इन्डिभिज्युअल मेम्बरले आफ्नो दृष्टिकोण राख्छ। कुनै शब्द प्रयोग गर्दछन्,’ उनले भने, ‘त्यसैलाई लिएर यत्रो अवरोध गरिरहनुपर्ने कुनै खण्ड थिएन। अब यी विषयमा विभिन्न चरणमा संसदमा पनि, संसद बाहिर पनि विशेषणहरू दिँदाखेरी विभिन्न विशेषणहरूको प्रयोग हुन्छ। उहाँहरूले एउटा विशेषण दिनुहुन्छ।’

तर, सभामुख घिमिरेले सो शब्दलाई असंसदीय भन्न नमिल्ने उल्लेख गर्दै हटाउन आवश्यक नभएको निर्णय लिएका थिए। त्यसको विरोधमा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अवरुद्ध पार्दै आएको छ।

‘अब एउटा सांसद सदस्यले कुनै विषयमा बोल्दा कुनै शब्द प्रयोग गर्‍यो। ती शब्दहरु प्रयोग नै नभएका शब्दहरू पनि होइनन्। त्यसो हुनाले यी विषयहरूलाई चाहीँ अतिशयोक्तिपूर्ण तरिकाबाट नलिएर जुन कामका लागि हामी यहाँ संसदमा निर्वाचित भएर आएका छौँ। विभिन्न विधेयकहरू छन्। यसमा गम्भिर छलफलमा हामी केन्द्रित हुनुपर्छ। कहिले कोही सत्तामा हुन्छ, कोही विपक्षमा हुन्छ। हामी विपक्षमा हुँदा ज्याँदै हतोत्साही हुने र अत्यन्तै ज्याँदा प्रतिक्रियात्मक हुने र हुँदाखेरी फेरी बेग्लै रुपमा आफूलाई लिने काम हामीले गर्नु हुँदैन। धेरै कुराहरु हामीले सँगै बसेर एउटा निष्कर्षमा पुग्नुपर्छ। त्यसकारण यसलाई मलाई लाग्छ–यसलाई छिटो टुंग्याउनु पर्छ। र संसदको प्रक्रिया अघि बढ्नुपर्छ,’ उनले भने।

प्रवक्ता महतले भने सोही शब्दलाई अतिशयोक्तिपूर्ण ढंगले लिने र संसद बैठक अवरुद्ध पार्न नहुने बताए। उनले शान्ति प्रक्रियालाई टुंगो लगाउने काममा सबै दलहरू एक ठाउँमा उभिएको बेला केही शब्दमाथि आपत्ति जनाउने काम आवश्यक नभएको पनि बताए।

‘तर त्यसैलाई लिएर मूलभूत कुरा त जे हामी एग्री भएका छौँ, जसरी यो प्रक्रिया अगाडि बढेको छ। यो शान्ति प्रक्रिया टुंगिएर यो ठाउँमा आइपुगेका छौँ। एकैठाउँमा हामी संसदमा छौँ। त्यसो हुनाले अव हामीले ती विषयहरुलाई कोट्याइ रहनुपर्ने आवश्यक छैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .