ad ad

राजनीति


उपसभामुख हटाउन दुईतिहाइ सांसदको हस्ताक्षर तयार, राजीनामा नआए तत्काल दर्ता

उपसभामुख हटाउन दुईतिहाइ सांसदको हस्ताक्षर तयार, राजीनामा नआए तत्काल दर्ता

सागर न्यौपाने
भदौ २५, २०८१ मंगलबार २१:५७, काठमाडौँ

उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर तयार पारेर राखेका छन्। नेपाली कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार, दुई तिहाइ सांसदको हस्ताक्षर तयार भइसकेको छ।

यो संख्या संसद्‌मा बहुमतका लागि आवश्यक पर्ने संख्याको पर्याप्त हुन्छ।

‘सरकारलाई समर्थन गरेका सांसदहरूको हस्ताक्षर भइसकेको छ,’ एमालेका एक नेताले नेपालखबरसँग भने, ‘अब भोलि (भदौ २६) संसद्‌मा दर्ता गर्ने पनि हुनसक्छ।’

कांग्रेसका एक सांसदले पनि त्यसबारे पुष्टि गरे। उनले उपसभामुखले राजीनामा दिए राम्रो हुने बताए। यसबारे नेपाली कांग्रेसले भोलि (बुधबार) पदाधिकारी बैठक बोलाएको छ।

‘उहाँले राजीनामा दिए राम्रो हो, यदि नदिए भोलि नै हटाउन प्रस्ताव दर्ता हुन पनि सक्छ,’ उनले भने, ‘उपसभामुखको व्यवहारले मुलुकलाई अप्ठ्यारो पर्‍यो, संसदीय व्यवस्थामाथी आँच ल्याउने काम गर्नुभयो, अब उहाँलाई पदमा राख्न हुँदैन भन्ने मत बलियो बन्दै गयो।’

हस्ताक्षर संकलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार बेलुकी भेट गरेका छन्। 

भेटमा उनले प्रधानमन्त्री ओलीसँग उपसभामुखबारे सरकारको आधिकारिक धारणा माग गरेका थिए। दिनभर पोखरामा रहेका रविले काठमाडौँ फर्किएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

उपसभामुखले सकभर राजीनामा दिएर मार्गप्रशस्त गराउने प्रयास सत्तारुढ दलहरूको छ। यद्यपि, उपसभामुख भने राजीनामा दिने मनस्थितिमा छैनन्।

त्यही भएर कांग्रेस–एमाले मंगलबार दिनभर सांसदहरूको हस्ताक्षर उठाएका छन्।

‘आज दिउँसो संसद् भवनमै हस्ताक्षरको काम सुरु भइसकेको थियो,’ एमालेका ती सांसदले भने, ‘उपसभामुख हटाउने प्रक्रिया छिट्टै हुने देखिन्छ।’

एमाले मुख्य सचेतक महेश बर्तौलाले पनि सोमबार बसेको सत्तारुढ दलको बैठकमा उपसभामुखको प्रसंग उठेको बताए। मंगलबार संसद्‌मा रास्वपाका सांसदहरुले प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गरेपछि एमाले रुष्ट बनेको उनको भनाइ छ।

उनले बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्।

‘उहाँले पद अनुकुलको आचरण नगरेको भन्दै हिजो (भदौ २४) मा बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकमा कुरा उठेको रहेछ,’ बर्तौलाले भने, ‘आज संसदमा रास्वपाका सांसदको गतिविधिले हामी सोच्न बाध्य भएका छौँ अब तयारी गर्नुपर्छ भन्ने भएको छ।’

‘केही नगर्दा नगर्दै हामीलाई रास्वपाका सांसदहरूले धम्क्याउन खोजे,’ उनले थपे, ‘अब तयारी नै गर्नुपर्छ भन्नेगरी एउटा मेन्टालिटी विकास भएको हो।’

बालुवाटार स्रोतले पनि भदौ महिनाभित्र त्यो काम भइसक्ने जानकारी दियो। सोही अनुसार, नेकपा एमालेका सांसदहरूलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देशनसमेत दिइसकेको छ।

भोलि बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। एमालेले उपसभामुखले पदको गरिमा हटाउने काम गरेको आरोप लगाएको छ।

मंगलबार (भदौ २५) बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमाले सांसद्ले उनको राजीनामा मागेका थिए।

तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विरोधमा उत्रिएका छन्।

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो। 

उक्त विषय राष्ट्रहित विपरित र पदीय गरिमाविपरित भएको भन्दै सत्तारुढ दलहरूले मंगलबार बिहानबाट राजीनामाको विषय उठाएका थिए।

खासमा संवैधानिक परिषद्‌मा कांग्रेसको उपस्थिति अहिले शून्य छ। विपक्षी दलको नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल छन्। परिषद् सदस्य रहने उपसभामुख पनि प्रतिपक्षी बेञ्चमा रहेको रास्वपामा रहेको भएपछि सत्तापक्षसँग पर्याप्त बहुमत छैन। 

संवैधानिक परिषद्मा बहुमत पुर्‍याउन यो कदम चालिएको रास्वपाका नेताहरूले पनि बताएका छन्। 

विभिन्न आयोग र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने बेलामा ओली सत्ता समीकरणमा समस्या आउन नदिने रणनीतिमा छन्। 

लेटरहेड दुरुपयोगको मुद्दा उठाएर उपसभामुख कांग्रेसलाई दिन पाए सत्ता सञ्चालन सहज बन्ने ओलीको बुझाइ देखिन्छ। 

नैतिकताको विषयसँग जोडेर कांग्रेस–एमालेका सांसदहरूले राजीनामा मागेका छन् भने रास्वपाले यसलाई अमेरिकी दूतावासमा दर्ता नै नभएको विषयलाई राजनीतिक मुद्दा बनाएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .