ad ad

राजनीति


मधेस पुगेर प्रचण्डले भने- जनताको अवस्था बदल्ने बेला आएको छ

मधेस पुगेर प्रचण्डले भने- जनताको अवस्था बदल्ने बेला आएको छ

नेपालखबर
भदौ २५, २०८१ मंगलबार ११:८, सिरहा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन्। 

नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिरहाले आज बिहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए। 

२०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिका रूपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकामा सिरहाका जनतालाई धन्यवाद दिँदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए।

संविधान जारी भएपछि मधेसका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताए।

‘जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ’, उनले भने, ‘संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौँ वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ।’

अध्यक्ष प्रचण्डले पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सबै जनताले र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्ने बताए।

सिराहामा स्थानीयसँग अन्तरक्रिया गर्दै प्रचण्ड

आफूले सरकारको नेतृत्व गर्दा वर्षौ पुराना तराई मधेसका समस्यालाई ध्यान दिएर काम गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौँ, मैले सरकारको नेतृत्व गरेको बेलामा यी एजेन्डामा पनि अझ बढी मधेसका समस्या समाधानमा ध्यान दिने प्रयास गरेँ। वर्षौं पुरानो मिटरब्याजको समस्या कानुन बनाएर नै समाधान गरिएको छ। हजारौँ नागरिकताविहीनहरूले नागरिक पाउने अवस्था बनेको छ। यसलाई तपाईंहरूले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको छ भन्ने मैले बुझेको छु।’

पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेन्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताका दैनिक समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेन्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताए।

त्यसका लागि स्थानीय पार्टी कमिटीलाई आवश्यक योजना बनाएर अघि बढ्न उनले निर्देशन दिए। 

त्यसअघि आजै बिहान अध्यक्ष प्रचण्डले सिराहको गोलबजारमा स्थानीयवाग अन्तरक्रिया गर्दै आफूले सुरु गरेका पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिएका थिए। उनले गोलबजारवासीले विकास र सुशासनका विषयमा राखेको चासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै समग्र मधेशी जनताका अधिकारको संघर्षमा सधैं साथमा रहने दृढता व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .