राजनीति


सेनाभित्रको भ्रष्टाचारबारे छलफल गर्न बोलाइएको बैठकमा आएनन् रक्षामन्त्री र प्रधानसेनापति

सेनाभित्रको भ्रष्टाचारबारे छलफल गर्न बोलाइएको बैठकमा आएनन् रक्षामन्त्री र प्रधानसेनापति

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ८:४७,

नेपाली सेना भित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाउँदा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ।

बैठकमा सांसदहरुले सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थिति भएको भन्दै आपत्ति जनाएपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गरेकी हुन्। उनले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्री समक्ष पुर्याइदिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन समेत दिइन्। उनले भनिन्, ‘माननीयहरुले उठाउनुभएको विषयहरुको सन्देश सहित अर्को बैठमा उपस्थित हुने गरेर आजको यो बैठक स्थगित गर्दछु।’

बैठकमा सांसद अमरेशकुमार सिंहले सेना भित्रको भ्रष्टाचार सम्बन्धमा बोलाइएको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै समितिको मर्यादामाथि प्रहार भएको बताए। उनले नेपाली सेनाको तर्फबाट समेत प्रधानसेनापति नै जवाफदेही हुने भएकाले अन्य प्रतिनिधिको जवाफ आफूले नसुन्ने बताए।

उनले नेपाली सेनालाई ठेकेदार बनाउन खोजेको हो की सेनाको गरिमा कायम राख्न खोजेको हो सरकारले जवाफ दिनुपर्ने बताए। त्यस्तै संसदलाई जवाफ दिने हैसियत सचिवलाई नभएको भन्दै पोर्टोकलको ख्याल राख्न समेत माग गरे।

उनले भने, ‘हामी नेपाली सेनालाई ठेकदार बनाउन खोजेका छौं की नेपाली सेना बनाउन खोजेका छौं, सरकारले जवाफ दिनुपर्छ। सरकार नै छैन भने कसले जवाफ दिने। सचिवज्युको हैसियत होइन जवाफ दिन। संसदलाई जवाफ दिन सचिवको हैसियत पुग्दैन। त्यो प्राेटाेकलको पनि कुरा हुन्छ। त्यसकारणले सचिवजीको जवाफ म सुन्ने पक्षमा छैन। बोलेर म बहिस्कार गरेर हिंडछु।’ उनले नेपाली सेना भित्रको भ्रष्टाचारले देशलाई थिलोथिलो पारेको समेत बताए।

सांसद झपटबहादुर रावलले विभागीय मन्त्री र सेनाको प्रमुख बिना भ्रष्टाचार जस्तो गम्भीर विषयमा छलफल अगाडि बढ्न नसक्ने बताए। उनले संसदको गरिमा र महत्वलाई बेवास्ता गरेको र बैठकमा बोलेका कुरा सुन्ने व्यक्ति नै नभएको अवस्थामा छलफल स्थागित गर्नुपर्ने बताए।

उनले भने, ‘सबैभन्दा पहिले सम्बन्धित विभागीय मन्त्रीज्यू र सेनाको प्रमुख वहाँहरुको उपस्थिति बेगर यो बैठक अगाडि बढाउने कुरा यो मिनि संसदको गरिमा यसको महत्व्लाई बेवास्ता गरेको भन्ने मेरो बुझाई रहेको हुनाले म बोल्दिन भनेर बोलिरहनु भन्दा पनि यसलाई यसरी नै टुङ्ग्याउँ भन्ने पक्षमा छु।’

सांसद डिला संग्रौलाले नेपाली सेना भित्र अझैपनि आर्थिक र नीतिगत भ्रष्टाचार हुनेवाला छ भन्ने विषय आएकाले यसमा सम्बन्धित मन्त्रालय र नेपाली सेनाले स्पस्ट पार्नुपर्ने बताइन्। उनले भनिन्, ‘सबैभन्दा पहिला जुन भ्रस्टाचार भइराखेको छ नेपाली सेनामा आर्थिक र नीतिगत भ्रस्टाचार हुनेवाला छ भनेर आएको छ।

यस सम्बन्धमा पनि तपाइँहरुको स्पस्टता चाहिन्छ। उच्च सैनिक अधिकृतहरुले आफूखुसी मन परेको गणगुल्ममा रहि बजेट निकासा गरेको भन्ने कुरा पनि आएको छ। यो के हो? यसको पनि सत्य तथ्य आउनुपर्छ। बढुवा गर्दा शैक्षिक योग्यताको कुरा पनि आएको छ। फास्ट ट्रयाक निर्माण गर्दापनि सेनालाई जिम्मा दिएको छ। त्यहाँपनि भ्रस्टाचार भएको छ अख्तियारले हेर्न मिल्दैन।’

सांसदहरुले अख्तियारले हेर्न मिल्दैन भन्दै सेनाभित्र ठूलाठूला अनियमितताहरु हुने गरेको बताए। नेपाली सेनाभित्र भ्रष्टाचार भएको दावी गर्दै सांसद रेनुका गुरुङले उजुरी गरेपछि समितिले कार्यदल बनाई आठ महिना लगाएर अध्ययन गरेको थियो। नेपाली सेनाभित्र आर्थिक भ्रष्टाचार, अनियमितता र नीतिगत भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ। सोही प्रतिवेदन माथि छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि बैठक स्थगित भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad