राजनीति


संसदको पुस्तकालयबारे सांसदहरू नै अनविज्ञ

संसदको पुस्तकालयबारे सांसदहरू नै अनविज्ञ

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १९:३, काठमाडौँ

सांसदहरू स्वयंले संसद सचिवालयको पुस्तकालयबारे अनविज्ञता प्रकट गरेका छन्।

शुक्रबार संघीय संसद सचिवालयको पुस्तकालय शाखाले पुस्तकालय दिवसको सन्दर्भ पारेर सिंहदरबारमा आयोजना गरेको ‘संसद पुस्तकालयः प्रयोग र महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, एमालेकी सांसद शान्ति चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीलगायतका सांसदहरुले संसद सचिवालयको पुस्तकालयमा पुस्तकको व्यवस्थापन समेत राम्रोसँग नगरेको गुनासो समेत गरेका छन्।

उपसभामुख रानाले सो पुस्तकालयमा जथाभावी पुस्तक फालिएको अवस्थामा भेटिएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन सचेत गराइन्। उनले पुस्तकालय संसद सचिवालयमा छ भने पछि सांसदहरुले जाने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने काममा लाग्नुपर्ने बताइन्।

‘पुस्तकालयमा पुस्तकहरु नै राम्रोसँग राखिएको छैन। त्यत्तिकै फालिएको अवस्था छ। यस्तो नगरौं। त्यहाँका अदभुत चिजहरुलाई संरक्षण गरेर राखौं। संसद सचिवालयको पुस्तकालयमा बनाउने जिम्मा हाम्रो हो। जाऔं। त्यसको प्रभावकारी सञ्चालनमा लागौं। पुस्तकालय छ भन्ने हामीलाई थाहा छ तर जाँदैनौं। त्यो पुस्तकालय शाखाको कमजारी होइन,’ उनले भनिन्।

एमालेकी सांसद चौधरीले आफूलाई संसद सचिवालयमा पुस्तकालय छ भन्ने थाहा नभएको बताइन्। उनले पछिल्लो घटनाक्रमबारे अध्ययन गर्ने काम फेसबुक लगायतका साामाजिक सञ्जालबाटै हुने गरेकाले पनि पुस्तकालयबारे चासो दिन अवस्था नरहेको पनि बताइन्। 

सांसद चौधरीले सांसदहरूको भूमिका प्रभावकारी हुने खालको सामग्रीहरू सो पुस्तकालयमा राख्नुपर्ने आवश्यकता पनि औंल्याइन्।

‘हामी नयाँ सांसदहरू छौँ। र यहाँ लाईब्रेरीको व्यवस्था गरिएको छ भन्ने कुरा स्वयं मलाई पनि थाहा थिएन। अघिनै माननीयज्यूहरूले भनिसक्नु भयो–अहिले यो सबै अध्ययन गर्न फेसबुकहरु छँदैछ। यसकारणले पनि पुस्तकालय गएर अध्ययन गर्ने काम बिग्रिएको छ। पहिलेका सांसदहरूको भन्दा अहिलेका सांसदहरुको भुमिका प्रभावकारी नभएको कुरा पनि आयो। यसमा म महसुस गर्दै पहिलाका सांसदहरूको भूमिका पनि हेर्‍यौं हामीले। जुन विषयमा केन्द्रित भएर संसदमा छलफल हुनुपर्ने, त्यतातिर नगएर हामी चुनावी भाषण जस्तो मात्रै गर्ने चलन संसदमा भित्रिएको छ,’ उनले भनिन्।

सो पुस्तकालयमा आफू एक पटक पुगेको र खोजेको पुस्तक नपाएपछि फेरि दोहोर्‍याएर नगएको राप्रपाकी सांसद रोशन कार्कीको स्पष्टीकरण थियो।

उनले पछिल्लो सन्दर्भ सामग्रीहरु पनि सो पुस्तकालयमा व्यवस्था गर्न संघीय संसद सचिवालयको ध्यानाकर्षण गराइन्।

‘लाईब्रेरीमा खोजिएको किताब पनि भेटिएन। पुस्तक पनि व्यवस्थित ढंगले राखेको पाइएन। राम्रो नभएपछि म फेरि फर्केर त्यो लाईब्रेरी गएको छैन। अब म फेरि एकचोटी जान्छु। माननीयहरू किन त्यहाँ आएनन् भन्ने कुराको पछाडि कारणहरू पनि खोज्नुपर्छ। लेटेस्ट सामग्रीहरूको अभाव छ,’ उनले भनिन्।

सांसदहरूले सो पुस्तकालयको अध्ययन सामग्रीको लागि पूर्व सांसदहरूको अनुभव पनि उपयोगी हुने धारणा पनि राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad