ad ad

राजनीति


राजनीतिमा पढेलेखेका मान्छे आए मात्रै देश विकास हुन्छ: बाबुराम भट्टराई

राजनीतिमा पढेलेखेका मान्छे आए मात्रै देश विकास हुन्छ: बाबुराम भट्टराई

नेपालखबर
भदौ ८, २०८१ शनिबार ५:५९, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश विकास गर्ने हो भने नेपालमा क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताएका छन्। 

शुक्रबार काठमाडौँमा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ को लोकार्पण समारोहमा बोल्दै उनले नेपालमा शक्ति राष्ट्रहरुले खेल्ने गरेको स्वीकार गर्दै देशमा क्षमतावान नेतृत्व भए कुनै समस्या नहुने बताए।

नेपाल जटिल भूराजनीतिक देश भएकाले धेरै शक्तिले खेल्ने कोसिस गर्ने बताउँदै उनले त्यसलाई दोष दिनुभन्दा राजनीतिमा पढेका मान्छे भित्र्याउन सके मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिने तर्क गरे। 

सादगी, नैतिकवान, मान्छेहरु राजनीतिमा आउनैपर्नेमा उनको जोड थियो। भट्टराईले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई अघि बढाउनका लागि पनि नैतिक र इमान्दार राजनीतिज्ञको खाँचो रहेको औँल्याए। 

आत्मकथाले डा राउतको जीवन सङ्घर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको भट्टराईको भनाई थियो। 

उनले भने, ‘कुनै समय मधेसलाई स्वायत्त राज्य माग गर्ने सिकेजीले किन त्यसो भन्नुभएको रहेछ भन्ने थाहा पाउन यो किताब पढ्नुपर्छ। किताबमा सिकेजीको मात्रै संस्मरण नभएर समग्र मधेस र मधेसीप्रति राज्यले सदियौँदेखि गरेको फेहरिस्त समेटिएको छ।’

भट्टराईले जीवनमा चुनौतीलाई पार गर्दै अघि बढ्न राउतको किताब विशेषगरी युवापुस्ताले पढ्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा लेखक तथा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त  राउतले मधेसीहरुलाई नेपाली भन्ने तर मधेसीको पहिचान बन्न नदिने कुरा गलत भएको बताए। 

समारोहमा डा राउतले मधेस आफ्नो पहिचान हो भने किन पहिचान नपाएको भनेर गुनासो गरे। उनले कुनै पनि ठाउँका लागि पहिलो कुरा पहिचान भएको दाबी गरे। मधेसीलाई पहिचान दिन नखोज्नु गलत भएकोमा उनको जोड थियो। 

अध्यक्ष रावतले भने, ‘पढाइ सकाएर अध्यापनमा रहँदासमेत हेपिएको, उत्कृष्ट अङ्क ल्याएर राजाबाट महेन्द्र विद्या भूषण पाउँदा दौरासुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउँछ। वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान कसरी बन्न पुगेँ भन्ने रुचिकर कथा यस पुस्तकमा छन्।’

आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमासमेत रहेको डा राउतले बताए। समाज उन्नतिका लागि तत्कालमा राजनीति गरे पनि दीर्घकालीन बोध अध्यात्मले दिने उनको भनाई थियो। 

जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दासम्मका डा राउतका भोगाइ समेटिएको पुस्तक बुकहिलले प्रकाशन गरेको हो। यसको पाठक मूल्य पातलो गाता रु पाँच सय ९९ र मोटो गाता रु सात सय ९९ रुपैयाँ राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .