ad ad

राजनीति


रविको बयान– गोर्खा मिडियामा आएको कुनै रकममा मेरो हस्ताक्षर र नागरिकता प्रयोग भएको छैन

रविको बयान– गोर्खा मिडियामा आएको कुनै रकममा मेरो हस्ताक्षर र नागरिकता प्रयोग भएको छैन

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १९:३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुनैपनि सहकारीबाट गोर्खा मिडियामा आएको रकममा आफ्नो हस्ताक्षर, नागरिकता लगायतका कुनैपनि कागजात समावेश नभएको बयान दिएका छन्। 

शुक्रबार सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विषेश समितिलाई बयान दिने क्रममा उनले बुटवलको सुप्रिम, चितवनको सहारा, पोखराको सूर्यदर्शन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट आएको कुनैपनि ऋण र अन्य रकममा आफ्नो संलग्नता नभएको बताएका हुन्। 

समितिका सभापति सूर्य थापाले दिएको जानकारी अनुसार, रविलाई सोध्नका लागि लगभग ५० वटा प्रश्न तयार पारिएका छन्। तीमध्ये झण्डै आधा प्रश्न सोधिएको उनले बताए। 

‘सोधपुछ जारी छ। उहाँले आफ्नो विषयहरू चाहे बुटवलको सुप्रिम सहकारी होस् वा चितवनको सहारा सहकारी, चाहे पोखराको सूर्यदर्शन होस् वा काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा आएका, उहाँको नाममा खडा गरिएका ऋण, रकमका सन्दर्भमा आफ्नो हस्ताक्षर, नागरिकता, कागजातसहितका चिज समावेश नभएको स्पष्ट गर्नुभएको छ,’ थापाले भने। 

गोर्खा मिडियामा आर्थिक लेनदेनको सबै काम जीबी राईमार्फत नै भएको र आफू प्रशासनिक काममा मात्रै संलग्न रहेको बयान समितिलाई दिएको थापाले बताए। 

‘जीबी राईसँगको चिनजानको विषयमा, जीबी राईको व्यवसायिक संलग्नताको बारेमा बताउनुभएको छ। करिब ५० वटा प्रश्नहरू उहाँसँग छन्। अहिले आधाभन्दा थोरैमा हामी पुगेका छौँ,’ सभापति थापाले भने। 

आफू प्रशासकीय काममा मात्रै गोर्खा मिडियामा रहेको भन्दै उनले आर्थिक विषय जीबीलाई नै थाहा हुने दाबी गरेको सभापति थापाले बताए।

‘संस्थाको प्रबन्ध निर्देशकको रुपमा सामान्य रुपमा प्रशासकीय र आन्तरिक काममा संलग्न रहेको तर, आर्थिक स्रोत जुटाउने काम जीबी राईले गर्ने गरेको हुनाले कहाँबाट कसरी रकम प्राप्त भयो भन्ने बारेमा जीबी राईलाई थाहा हुने विषय राख्नुभएको छ,’ उनले भने। 

साथै, आजै बिहान गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका छविलाल जोशीसँग पनि बयान लिइएको उनले बताएका छन्। 

‘गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरूमा, विभिन्न छानबिनमा देखिएका, संसद्मा उठेका, सार्वजनिक सञ्चारमाध्यममा आएका र जनसाधरणको तहमा उठेका प्रश्नको सन्दर्भमा दुई जना व्यक्तिलाई छलफलमा बोलाएका छौँ,’ सभापति थापाले भने, ‘११ बजेदेखि गोरखा मिडिया नेटवर्ककका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोेशीसँग सोधपुछ गर्यौँ। उहाँले आफ्नो संलग्नता, स्थिति स्पष्ट गर्नुभएको छ। उहाँले सोधपुछमा सहभागी भएर लिखित अभिलेखमा हस्ताक्षर गरेर बिदा गरेका छौँ। उहाँले हाम्रा प्रश्नहरूको सविस्तार जवाफ दिनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .