ad ad

राजनीति


रास्वपा विधान संशोधन : सुझाव कार्यदलले भदौ मसान्तसम्म प्रतिवेदन पेश गर्ने

रास्वपा विधान संशोधन : सुझाव कार्यदलले भदौ मसान्तसम्म प्रतिवेदन पेश गर्ने

नेपालखबर
भदौ ६, २०८१ बिहिबार २०:२८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको विधान संशोधन सुझाव कार्यदलले भदौ मसान्तसम्म प्रतिवेदन पेश गर्ने भएको छ।

देशका सातै प्रदेशबाट प्राप्त सुझावलाई अध्ययन गर्ने काम भइरहेको र प्राप्त सुझावहरूलाई एकीकृत गरी भदौ मसान्तसम्म प्रतिवेदन पेश गरिने कार्यदलले जानकारी दिएको छ।

पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि सुझाव दिन भन्दै रास्वपाले कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा साउन १० गते ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो। कार्यदललाई ९० दिनभित्र सुझाव प्रतिवेदन तयार पारी पेश गर्न भनिएको छ।

कार्यदलमा डाक्टर तोषिमा कार्की, गणेश कार्की, क्रान्तिशिखा धिताल, डाक्टर नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, सोविता गौतम, पुकार बम र शंकर श्रेष्ठ सदस्य रहेका छन्।  

विधान संशोधनका लागि सातवटै प्रदेशबाट सुझाव प्राप्त भएको र कार्यविभाजन गरी त्यसको अध्ययनको काम भइरहेको कार्यदलका संयोजक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

‘सातवटै प्रदेशबाट सुझावहरू प्राप्त छ, विधान संशोधनका लागि छुट्टाछुट्टै करिब ४० वटाजति प्रस्ताव/सुझाव आएको छ,’ बुर्लाकोटीले भने, ‘आएका सुझावलाई आठवटा खण्डमा विभाजन गरेर अध्ययनको काम भइरहेको छ।’   

उनका अनुसार उपसंयोजक तोषिमा कार्की, शंकर श्रेष्ठ, पुकार बम, क्रान्तिशिखा धिताल, कामिनी चौधरी, गणेश कार्की, विजय जैरु र डाक्टर नारायण घिमिरे गरी आठ जनालाई प्राप्त सुझावको अध्ययनका लागि जिम्मेवारी दिइएको छ।

सबैभन्दा धेरै सुझाव जिल्ला संरचनाको बारेमा आएको बुर्लाकोटीले बताए।

‘जानकारी हुनेहरूले जिल्ला संरचना राख्नुपर्छ, अहिलेको सानो भयो ठूलो बनाउनुपर्छ भन्नेजस्तो छ, थाहा नहुने/अभ्यासमा नहुनेले चाहिँ यो खारेज गर्नुपर्छ भन्ने छ,’ उनले थपे।

रास्वपाले असोज १ र २ मा पार्टीको पहिलो राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्दैछ। बुधबारको केन्द्रीय समिति बैठकले यसबारे निर्णय गरेको हो। त्यसअघि नै कार्यदलले सुझाव बुझाइसक्नुपर्ने हुन्छ।

राष्ट्रिय भेलाअघि नै कार्यदलले सुझाव प्रतिवेदन पेश गरिसक्ने कार्यदलकी सदस्य कामिनी चौधरीले बताइन्।

चौधरीले भनिन्, ‘हाम्रो त राष्ट्रिय भेलाको मिति तय भइसकेको छ। ३ र ४ मा गर्ने कुरा थियो, त्यसलाई सारेर १ र २ मा गर्ने अस्तिको केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ। हामी भदौ मसान्तसम्म फाइनल रिपोर्ट पार्टीलाई बुझाउँछौं।’

चौधरीका अनुसार कार्यदलले वडादेखि प्रदेशसम्मका सबै समितिमार्फत् तथा गुगल फर्म मार्फत् देश विदेशमा रहेका शुभचिन्तकबाट सुझाव मागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .