प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताएका छन्।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य शिक्षकहरु नपाइने समस्या विद्यमान रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तिर्ण हुनु यसकै नतिजा रहेको बताए।
उनले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताए।
उनले भने, ‘अहिले शिक्षा विधेयक हाउसमा छ। राम्रोसँग सोच्नुस्, राम्रोसँग विचार गर्नुस्। कम्तिमा सामुदायिक विद्यालयहरुमा ८० प्रतिशत विद्यालयमा शिक्षक छैनन्। ५२ प्रतिशत विद्यार्थी इसईईमा फेल भए भनिरहेका छन्। मुख्य मुख्य शिक्षकहरु नै छैनन्। राहत वा सामुदायिक स्तरमै राखेर जेनतन अध्ययन गराइएको छ। यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ।’
पूर्वराष्ट्रपति यादवले शिक्षा विधेयक अहिले संसदमा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न आग्रह गरे। उनले सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिइएको गुनासो गरे।
सबै राजनीतिक दलहरु सत्ताका लागि मरिहत्ते गरिरहेको उनको भनाई थियो।
प्रथम राष्ट्रपति यादवले सबै मिलेर कोलाहल मच्चाउने काम भइरहेको बताए। उनले देशमा ८० प्रतिशत खाद्यान्न बाहिरबाट आउने गरेको भन्दै यस्तै प्रकारले देशमा समाजवाद नआउने बताए।
Shares

प्रतिक्रिया